उर्जामन्त्री पुनद्वारा सुरुङमार्गको निरीक्षण

भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना

स्काई न्यूज / कार्तिक २०, सुर्खेत ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधबार सुर्खेतको हात्तीसारबाट मिनि रेल चढेर सुरुङ मार्गको निरीक्षण गरेका छन् । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङमार्गको मन्त्री पुनले अनुगमन गरेका हुन् । मन्त्री पुनले १२.२ किलोमिटर लामो सुरुङमार्ग उनले ‘मोनोरोल’ मार्फत अनुगमन गरे । भेरीगंगा नगरपालिकाको हात्तीखालबाट मोनोरेल चढेका मन्त्री पुन एक घण्टा लगाएर चिप्ले पुगेका थिए । हात्तीखाल सुरुङमार्गको निकास हो भने, चिप्ले प्रवेशद्धार हो । सुरुङमार्गको बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक–थ्रु्’ गरेका थिए । २०७४ कात्तिक मसान्तदेखि टिबिएममार्फत निर्माण थालिएको सुरुङ सम्झौता अवधि (२०७६ चैत १५ गते) भन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको थियो । हात्तीखालबाट मोनोरेल चढेर चिप्ले आएका मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमा राष्ट्रिय गौरवका योजनाहरु निर्माण भइराखेकाले बजेट र जनशक्तिको अभाव हुन नदिने दावी गरे ।


उनले बाँध, विद्युत गृहलगायतका संरचनाहरु सँगसँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको बताए । उर्जामन्त्री पुनले जनताको जलविद्युत आयोजना अन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत उत्पादन गरिने बताए । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको करिब वर्ष पुग्नै लागेको छ । जिल्लाको भेरीगंगा नगरपालिका–११ चिप्लेबाट सुरु भएको सुरुङ सोही नगरपालिका–५ हात्तीसार पुगेर बबई नदीको किनारमा टुंगिन्छ । आयोजनाको सुरुङ १२ हजार २०० मिटर लामो छ ।

भेरीको पानी बबई नदीमा मिसाएर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्यले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण भइरहेको छ । यो आयोजनाबाट ४६ दशमलव ८ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि छ । आयोजनाका दुई वटा प्रमुख उद्देश्यहरु रहेका छन । पहिलो भेरीको पानी बबईमा मिसाएर ५ नम्बर प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र दोस्रो ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सुरुङ (टनेल) निर्माणको काम सकिएसँगै सुर्खेतका स्थानीय बासिन्दामा खुशी छाएको छ । प्रविधि प्रयोग गर्न सके काम छिटो हुन्छ भन्ने भेरी–बबई आयोजनाले देखाएको छ । आयोजनाबाट बाँके, बर्दियाको ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनुका साथै विद्युत् उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

Translate »