आयुर्वेद औषधालयलाई १५ शैयाको चिकित्सालय बनाईदै

सुउवा संघका महासचिवद्वारा ३२’’ इन्चको टेलिभिजन सहयोग

स्काई न्यूज/कार्तिक ९, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर कालागाउँ स्थित प्रदेश आयुर्वेद औषधालयलाई १५ शैयाको चिकित्सालय बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले जनताको बढ्दो मागलाई सम्बोध गर्न सबैभन्दा पुरानो प्रदेश आयुर्वेद औषधालयलाई विशेषज्ञ सहितको चिकित्सालय बनाउन लागेको हो । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे पछिल्लो समय जनमानसको बढ्दो आकर्षणलाई ध्यानमा राखेर प्रदेश सरकारले सेवा सुविधा बढाउन लागेको छ । स्थानीय बासिन्दाले समेत आयुर्वेद औषधालयलाई प्रदेशकै केन्द्रीय चिकित्सालय बनाउन माग गरेपछि सरकारले तत्कालका लागि १५ शैयाको सेवा सुविधा दिने गरि (डीपीआर) विस्तृत परियोजना प्रतिवेदन बनाईसेको बताएको छ । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७६ को अवसर पारेर शनिबार वीरेन्द्रनगरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतले आयोजना गरेको काक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले कर्णालीको आफ्नै मौलिक चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु¥याउन आवश्यक रहेको औल्याए । उनले जनताको माग तथा आवश्यकतालाई ध्यानमा राखेर प्रदेश आयुर्वेद औषधालयमा विशेषज्ञ सेवा सुविधासहितको तत्काल १५ शैयाको चिकित्सालय बनाउन प्रदेश सरकारले प्रारम्भिक प्रक्रिया शुरु गरि सकेको जानकारी दिए ।


‘प्रदेश सरकार कर्णालीमा उपलब्ध जडिबुटीको संकलन, भण्डारण तथा प्रशोधन गर्न आवश्यक बजेट तथा स्थलको छनौट तयारीमा रहेको छ,’ उनले भने, ‘प्रदेश आयुर्वेद औषधालयसँगै जुम्ला तथा रुकुमको चौरजहारीमा समेत सम्भाव्यता अध्ययन गरि प्रशोधन तथा औषधी उत्पादन कार्य शुरु गरिने योजना प्रदेश सरकारले बनाएको छ ।’ उनले कर्णालीमा उपलब्ध बहुमूल्य जडिबुटी संकलनसँगै आयुर्वेद औषधी तथा चिकित्सा पद्धतीका बारेमा व्यापक छलफलका लागि प्रदेश सरकार सुर्खेतमा छिट्टै राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्न लागेको जानकारी दिए ।


कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले औषधालयलाई ३२ इन्चको रंगिन टेलिभिजन सहयोय हस्तान्तरण गर्दे उनले भने, ‘सिरानीमा सुन राखेर नून खोज्ने प्रवृत्ति अब छिट्टै हटाउन पर्छ । विशेषज्ञ चिकित्सालयसहित प्रदेश आयुर्वेद औषधालयलाई जडिबुटी संकलन, भण्डारणसँगै देशकै नमूना आरोग्य केन्द्रको रुपमा विकास गुर्न पर्छ ।’ उनले निजी क्षेत्र औषधालयको विकासका लागि हरेक स्तरबाट सहयोग गर्न आतुर रहेकाले सुउवा संघको पहलमा शुरु गरिएको अधुरो जडिबुटी संकलन केन्द्रलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानकर्षण गराए । त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतका अध्यक्ष श्याम कँडेलले समय सापेक्ष जनतालाई विभिन्न चिकित्सा पद्धती आवश्यक रहेकाले राज्यको ध्यान स्वास्थ्य क्षेत्रमा रहेका विकृति तथा विसंगती तर्फ ध्यान पु¥याउनु पर्नेमा जोड दिए । प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले पहिलेको तुलनामा प्रदेश आयुर्वेद औषधालयको सेवा सुविधा विस्तार गरिएको भएपनि अझै अपर्याप्त रहेको जनाए । ‘हाल अधुरो रहेको निर्माणाधिन दुई तले भवन सम्पन्न गर्न प्रदेश सरकारले सहयोग गरे, हालकै जनशक्तिबाट यसै वर्षदेखि ५ शैयाको चिकित्सालय सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने, ‘अँधरो भवन सम्पन्न गर्नका लागि प्रदेश सरकार सकारात्मक देखिएपनि बजेट निकासीमा ढिलाई भईरहेकाले जनताले तत्काल सोचेजस्तो सेवा सुविधा दिन नसक्दा निरासा बढेको छ ।’


प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुनेमा सर्वसाधारण विश्वस्त रहेको पाइएको बताए । उनका अनुसार प्रदेश आयुर्वेद औषधालयबाट विशेषगरी कामला हेपाटाइटिस, जन्डिस, अम्लपित्त, पक्षघात प्यारालाइसिस, पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गरेका छन् । पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनु लगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुन सकेको छैन् । औषधालयका प्रमुख डाक्टर रिजालले औषधालयलाई उत्कृष्ट सेवा केन्द्र बनाउन प्राथमिकता दिएको जानकारी दिँदै यसका लागि सामाजिक विकास मन्त्रालयले थप रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।


धन्वन्तरी जयन्तीको महत्व
तिहारमा पुजिने मध्ये आयुर्वेदका प्रणेता एवं हिन्दू धर्मशास्त्र अनुसार देवताहरुका चिकित्सक धन्वन्तरी पनि पर्दछन् । धन्वन्तरीको पूजा काग तिहारका दिन गरिन्छ । धन्वन्तरीले काग तिहारका दिन कागको रुप लिएर कागेश्वरी (सुन्दरीजल नजीकै)मा गएर महादेवको तपस्या गरेको भएर काग तिहारका दिन उनको पूजा गरी आरोग्य दिवसका रुपमा मनाउने प्रचलन रहेको छ । खासगरी धन्वन्तरीको सन्देश हित कुरा खाऊ, अड्कलेर खाऊ, ऋतु अनुसारको आहारविहार गर भन्ने रहेको छ ।


देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धनवन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गर्दछन् । विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको छ । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । नेपालमा विसं १९७४ मा आयुर्वेद चिकित्सालयको स्थापना भई जिल्ला जिल्लामा औषधालय खुलेका हुन् । अहिले नेपालका सातै प्रदेशमा गरी ४०० भन्दा बढी आयुर्वेदिक औषधालय छन् ।


विश्व स्वास्थ्य संगठनले वैकल्पिक चिकित्साको रुपमा आयुर्वेदलाई मान्यता दिएको छ । पश्चिमी मुलुकमा पनि ‘हर्बल ट्रिटमेन्ट’ अथवा ‘नेचुरल ट्रिटमेन्ट’का रुपमा लिई यो विधिबाट उपचार शुरु गरिएको छ । नेपालमा पनि रुसदेखि अमेरिका, चीनसम्मका मानिस आयुर्वेदिक उपचार गर्न आउने गरेका छन् । बिरामी भएपछि लामो समयसम्म एलोपेथिक उपचार गरेर त्यहाँबाट निको नभएपछि आयुर्वेदिक उपचारमा जानेको संख्या धेरै छ । यसले गर्दा रोग जटिल अवस्थामा पुग्ने हुँदा निको पार्न कठिन रहेको यस क्षेत्रमा कार्यरतहरुको भनाइ छ । शुरुमै आउने हो भने छिट्टै र जरैदेखि निको पार्न सक्ने क्षमता आयुर्वेदमा रहेको डाक्टरहरु बताउँछन् । अहिले नसर्ने रोगले देशसँगै विश्व पीडित छ, त्यसको सफल उपचार आयुर्वेदबाट हुने र भइरहेको आयुर्वेदिक विज्ञहरुको दाबी छ ।

Translate »