दीर्घ रोगमा आयुर्वेदिक प्रभावकारी बन्दै

सुर्खेतमा आयुर्वेदप्रति आकर्षण बढ्दै

स्काई न्यूज/कार्तिक २, सुर्खेत ।
नसर्ने तथा कडा रोगीको संख्या बढ्दै गइरहेको अवस्थामा आयुर्वेद उपचार क्लिनिकले गाउँ–गाउँमा सञ्चालन गरेको आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेतले शनिबार वीरेन्द्रनगर–१४, कटकुँवामा आयोजना गरेको गाउँघर/शहरी क्लिनिक नसर्ने रोग व्यवस्थापन कार्यक्रममा अत्यन्तै प्रभावकारी भएको सेवाग्राहीले बताएका छन् । स्थानीय समाजसेवी हरि हमालले पछिल्लो समय आयुर्वेद औषधीप्रति बढ्दो जनविश्वासको मागलाई ध्यानमा राख्दै सरकारले अधिकतम् गाउँघर क्लिनिक सेवालाई थप विस्तार गरि सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिए । वीरेन्द्रनगर–१४, का वडा अध्यक्ष टोपबहादुर दर्लामीले आयुर्वेद औषधी पूर्खाको पालादेखि नै महत्व राख्दै आएकाले यसको विकास तथा विस्तारका लागि सरकार बढी जिम्मेवार हुनु पर्ने औल्याए ।

प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले आयुर्वेद औषधी उपचार प्रभावकारी बन्दै गईरहेको भएपनि आवश्यक जनशक्ति अभावले थप सेवा विस्तारमा कठिनाई भईरहेको जनाए । उनले राज्यको सहयोग विना केही गर्न नसकिने भएकाले छिट्टै जनताको मागलाई सम्बोधन गर्न प्रदेश सरकार प्रयासरत रहेको जानकारी दिए । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतले  वीरेन्द्रनगरको गोठीकाँडामा महिनाको पहिलो र तेस्रो शनिबार गाउँघर क्लिनिक चलाउँदै आएको छ । ‘नसर्ने रोग लागेका डेढ सय जना नियमित आउने गरेका छन्,’ प्रदेश अस्पताल सुर्खेतका प्रमुख डाक्टर शंकर रिजालले भने, ‘त्यस्तै सामान्य बिरामी परेका र अन्य पनि थुपै्र आउँछन् ।’ क्लिनिकमा दम, रक्तचाप, बाथ, मधुमेह, क्यान्सर र मुटुरोगीको स्वास्थ्य परीक्षण गरेर औषधी दिइन्छ । क्लिनिकमा दीर्घरोगीलाई १५ दिनका लागि औषधी दिइने गरेको डा. रिजालले बताए ।

‘यस्ता किसिमका कडा रोगीले नियमित औषधी सेवन गर्नुपर्छ, आयुर्वेदिक औषधीको एलोपेथिक औषधीको जस्तो ‘साइड इफेक्ट’ नहुने भएकाले आयुर्वेद क्लिनिकमा दीर्घरोगी आकर्षित हुन् थालेका छन्,’ उनले भने, ‘त्यसमा औषधी समेत निःशुल्क हुने भएकाले बिरामीलाई सहज भएको छ ।’ उनले क्लिनिकमा चिकित्सकले स्थानीय जडीबुटीको प्रयोगका बारेमा समेत जानकारी दिने भएकाले ज्येष्ठ नागरिक क्लिनिकमा उत्सुकताका साथ उपस्थित हुने गरेको जिकिर गरे । ‘जडीबुटी कसरी प्रयोग गर्ने भन्ने जान्न पनि स्थानीय भेला हुन्छन,’ कविराज निरीक्षक श्रीराम आचार्यले भने, ‘रोग अनुसार जडीबुटीको प्रयोग गर्न सिकाउँछौँ ।’ उनले कटुकुवामा सञ्चालनमा ल्याइएको क्लिनिक प्रभावकारी भएपछि धेरै विषादीको प्रयोग हुने भेरीगंगा नगरपालिकाका नागरिकले समेत माग गर्दे आएको बताए । उनका अनुसार अहिले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाका नागरिकले गाउँघर क्लिनिक सञ्चालन गरि दिन बढी माग गरिरहेका छन् ।

 

खानपान, खाद्यबालीमा भइरहेको विषादी प्रयोगका कारण कडा किसिमका दीर्घरोगीको संख्या बढ्दै गएपनि किनेर औषधी खानुपर्ने भएकाले धेरै दीर्घरोगीले औषधी खाँदैनन् । गाउँघर क्लिनिकमा आएका बिरामीलाई ‘फुल फेज’ का लागि औषधी दिइने भएकाले क्लिनिक प्रभावकारी बनेको हो । तर, सरकारले पर्याप्त बजेट व्यवस्था नगर्दा आयुर्वेदिक औषधीको अभाव हुने गरेको छ । एक पटकमा १ सय २० दिनको लागि औषधी खरिद गरिन्छ । तर, त्यो औषधी समय अघि नै सकिने गरेको प्रदेश औषधालयले बताएको छ । जिल्लाको सिम्ता गाउँपालिका स्थित राकम, गुर्भाकोटको जहरे, पञ्चपुरीको विद्यापुरमा आयुर्वेद औषधालय छन् । ती औषधालयमा समेत औषधि अभाव हुने गरेको छ । विद्यापुर औषधालयमा मात्रै दिनको ४०/५० जना बिरामी आउने गरेका छन् । अन्य औषधालयमा पनि  सेवाग्राहीको उपस्थिति बाक्लै छ ।


आयुर्वेद उपचारप्रति आकर्षण बढ्दै
सुर्खेतमा पछिल्लो समय आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले ढिलो रोग निको भएपनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको हो । ‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधीको प्रयोग बढेको छ’, प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका बैद्य निरीक्षक दिपेन्द्र कँडेलले भने, ‘यहाँ भने त्यस्तो छैन ।’

आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जाने उनको भनाइ छ । सुर्खेतमा आर्थिक वर्ष २०७५/०७६ मा करिब एक लाख बढी नागरिकले आयुर्वेद उपचारको निशुल्क लाभ लिएका छन् । आयुर्वेदमा स्तनपायी आमा कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद  शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र घुम्ती शिविरबाट समेत एक लाख बढीले लाभ लिएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ ।

प्रदेश औषधालयमा पञ्चकर्म र क्षारसुत्र सेवा सञ्चालनमा ल्याएपछि दैनिक आउने बिरामीको संख्यामा वृद्धि भएको कार्यालयका कविराज निरीक्षक आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष देखि सञ्चालनमा ल्याइएको उक्त सेवाबाट औषधीसहित चार हजारमा पायल्स र फिस्टुलाको उपचार गरिएको छ । उनका अनुसार अन्यत्र उपचार गराउँदा कम्तीमा १५ देखि २० हजारसम्म खर्च हुन्छ ।

Translate »