कर्णाली प्रदेश अस्पतालमा ‘सामाजिक सेवा ईकाई प्रभावकारी भएन’

लक्षित वर्गलाई नै थाहा छैन

स्काई न्यूज /असोज २९, सुर्खेत ।
गरिव, असाहय, जेष्ट नागरिकलगायत लक्षित समूहका विरामीलाई आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले सरकारले गत आर्थिक वर्षदेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सामाजिक सेवा ईकाईको स्थापन गरेको थियो । तर, अस्पतालमा पाईने यस्तो सुविधा बारे धेरैलाई जानकारी नहुँदा सामाजिक सेवा ईकाई प्रभावकारी हुन सकेको छैन् । यस इकाई मार्फत जेष्ठ नागरिक, अपाङ्गता भएका, असहाय, लैगिक हिंसामा परेका, सहिद परिवार र प्राकृतिक प्रकोपमा परेका परिवारका लागि आंशिक या पूर्ण निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु हो ।

अस्पतालमा पनि यस्तो इकाई अन्तर्गत निश्चित मापदण्ड पूरा भएका विरामीहरुका लागि निशुल्क वा आंशिक निशुल्क उपचार, औषधी र शैयाको व्यवस्था गरिएको छ । तर यसबारेमा सर्वसाधारणलाई राम्रोसँग जानकारी नहुँदा कतिपय गरीब, विपन्न विरामीहरु औषधी उपचारबाट बञ्चित हुने गरेका छन् भने अस्पतालमा रहेका यस्ता इकाई पनि परिणाम विहीन बन्ने गरेका छन् । कर्णाली प्रदेश अस्पतालमा यो सेवा प्रभावकारी देखिएको छ्रैन ।

अघिल्लो आर्थिकमा छुट्याईएको १५ लाख रकमले उपचार गर्न पुगेको थिएन भने चालु आर्थिक वर्षका लागि २० लाख रकम प्राप्त भएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल रेकर्डर विनोद बस्नेतले जानकारी दिए । ‘अघिल्लो वर्ष विनियोजन भएको रकम अपुग भएको र चालु आर्थिक वर्षमा वजेट वृद्धि भएको छ,’ उनले भने, ‘राज्यबाट विनियोजन भएको रकमले मात्र लक्षित वर्गको सेवा अपुग हुन सक्छ ।’ उनका अनुसार यसमा विशेषगरी जिल्ला भित्र रहेका स्थानीय तहदेखि सामाजिक संघ, संस्थाहरुको सहभागिता जरुरी पर्दछ ।


धेरै नागरिक सामाजिक सेवा ईकाईबारे जानकार नहुँदा यो सेवा बाट वन्चित भएको सेवाग्राही नै बताउँछन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले निशुल्क वा आंशिक शुल्कमा उपचार पाउनेदेखि अस्पतालमा कुरुवाको समेत खर्च व्यहोर्ने व्यवस्थाका बारेमा जानकारी पाएकै छैनन् । अस्पतालमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायहरुले निःशुल्क सेवा लिन आउँदा सरकारले जारी गरेको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने हुन्छ । ‘निशुल्क उपचार तथा त्यसका लागि आवश्यक प्रक्रिया सर्वसाधारणलाई जानकारी दिनु महत्वपूर्ण कार्य हो,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले भने, ‘यसका लागि स्थानीय सञ्चार माध्यम, राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ताहरुले भूमिका खेल्न सक्नु पर्दछ ।’ उनले सामाजिक इकाईमा पाइने निशुल्क तथा आंशिक छुट स्वास्थ्य सेवाको प्रयोजनको लागि भएको जनाए । उनका अनुसार यस कार्यमा ईकाई स्वयम् पनि थप क्रियाशील हुन आवश्यक छ । जसले पैसा छैन भनेर उपचारबाट बञ्चित हुन नपरोस् भन्ने सरकारको पवित्र लक्ष्य पूरा हुने आशा गर्न सकिने उनको भनाइ थियो ।

लक्षित वर्गलाई नै थाहा छैन
विपन्न तथा प्रकोप प्रभावितहरु समेत १२ समूहका विरामीलाई उपचार गर्ने उद्देश्यले अञ्चल तह भन्दा माथिका अस्पतालहरुमा २०६९ सालदेखि सामाजिक सेवा ईकाई सञ्चालनमा ल्याईएको छ । यो सेवाको उद्देश्य आर्थिक कमजोरीकै कारण नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने हो । तर, सहुलियत तथा निशुल्क उपचार उपलब्ध हुने सामाजिक सेवा ईकाई बारेमा लक्षित वर्गलाई नै थाहा छैन् । जसका लागि लक्षित छ, उनीहरुलाई नै जानकार नहुँदा सामाजिक सेवा ईकाईले दिने सुविधा सीमित व्यक्तिले मात्र लिईरहेका छन् । निशुल्कदेखि कम शुल्कमा जुनसुकै रोगको उपचार हुने सुविधा बारे नागरिकलाई पर्याप्त जानकारी दिन सके आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले लाभ पाउने थिए ।

Translate »