गंगामाला पाउरोटी उद्योगमा सिलबन्दी

स्काई न्यूज दैनिक/ असोज २७, सुर्खेत ।
संयुक्त बजार अनुगमन टोली सुर्खेतले वीरेन्द्रनगरको गोदामलाईनमा रहेको गंगामाला पाउरोटी उद्योगमा सिलबन्दी गरेको छ । टोलीले पर्याप्त सरसफाइसँगै उद्योगमा आवश्यक मापदण्ड पूरा नगरेपछि कारखानामै सिलबन्दी गरेको हो ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्मा नेतृत्वको अनुगमन टोलीले विगतमा समेत पाउरोटी उद्योग मापदण्ड अनुरुप सफाइमा पर्याप्त ध्यान दिन पटक–पटक जानकारी गराएपनि सुधार नदेखिएपछि अन्ततः सिल मारिएको जनाएको छ ।

शर्माका अनुसार उद्योगले सरसफाइमा ध्यान नदिएको, पिठो मुछ्न आवश्यक रहेको सामग्री वर्षौंदेखि एउटै प्रयोग गर्दा कुहिएको अवस्थामा फेला पारेको थियो । उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरि अस्वस्थ्य पाउरोटी विक्री वितरण गरिएको सर्वसाधरणबाट समेत उजुरी परेकाले सिलबन्दी गरिएको जनाए । पाउरोटी बनाउने किचनमा खानेपानीका भाँडा फोहर भएको, किचेन सफा नभएको, कामदारले सरसफाई नगरेको, ग्लोब्स, पन्जा, किचेन बुट तथा कपाल पनि नछोप्ने गरिएको, तयार पारिएको खाद्य सामाग्री नढाकेर राखिएको लगायत अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए । यता उद्योग सञ्चालकले भने सरकारी नियम अनुसार सरकारबाट लाईसेन्ससँगै राजश्व तिरेर मापदण्ड अनुरुप कारखाना चलाई रहेको भएपनि प्रतिद्वन्द्वीले षड्यन्त्र गरेर आफुलाई फसाएको आरोप लगाए ।

Translate »