कर्णालीका १५ हजार नागरिक दृष्टिविहिन

सुर्खेतमा मनाइयो विश्व दृष्टि दिवस

पार्वती बयक/ असोज २३, सुर्खेत ।
आँखा छ त संसार छ, आँखा छैन त सबै अन्धकार । यसैबाट बुझ्न सकिन्छ आँखाको महत्व । सुर्खेतको वीरेन्द्रनगर विहीबार विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुर्खेत आँखा अस्पतालले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेश भरी झण्डै १५ हजार नागरिक दृष्टिविहीन रहेको अनुमान गरिएको छ । प्रदेशमा करिब ९ हजार नागरिक मोतियाविन्दुका विरामी रहेका छन् । सुर्खेत आँखा अस्पतालको तथ्यांकलाई आधार मान्ने हो भने प्रदेशभरी आँखाका विरामी मध्ये ३ हजार ४ सय जना नागरिकसम्म मात्र उपचारको पहुँच पुग्न सकेको छ । अझै रोचक तथ्यांक त के छ भने यहाँका ४० प्रतिशत नागरिकमा चश्मा सम्बन्धि समस्या रहेको पाईएको छ ।


सुर्खेत आँखा अस्पतालले आँखाको बारेमा आममानिसमा जानकारी गराउनु र अन्धोपन हुनबाट बचाउनु नै दृष्टि दिवसको प्रमुख उद्देश्य रहेको जनाएको छ । ‘आई केयर एभ्री ह्योर अर्थात् आँखाको हेरचाह जहाँ तहीं’ भन्ने नाराका साथ अक्टोबर महिनाको दोस्रो बिहीबार दृष्टि दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका प्रबन्धक घनबहादुर थापाले खानपान र जीवनशैलीका कारण पनि आँखाको ज्योति गुम्ने खतरा रहेकाले त्यतातिर ध्यान दिन आग्रह गरे । उनले आँखा सम्वेदनशील अंग भएकाले यसको सुरक्षाका लागि सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार शरीरमा सबैभन्दा महत्वपूर्ण अंग आँखा भएका कारण यसको स्याहार सुसारमा विशेष ध्यान दिनुपर्छ । ‘सुर्खेत आँखा अस्पतालले प्रदेशभरका ६० हजार नागरिकलाई प्रत्येक वर्ष आँखा सम्बन्धि विभिन्न समस्याको निवारण गर्दे आईरहेको छ,’ उनले भने, ‘अस्पताले विश्व दृष्टि दिवसको अवसर पारेर  जेष्ठ नागरिकलाई निशुल्क आँखा उपचार गरिएको छ । ’ उनले अस्पतालले विभिन्न संघसंस्था तथा सरकारी एजेन्सीहरुसँग समन्वय गरि प्रदेशभरी निशुल्क आँखाको शिविर आयोजना गर्ने योजना बनाएको जानकारी दिए । उनका अनुसार अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निशुल्क शल्यक्रिया समेत गरेको छ ।


आहार–विहारमा ध्यान पु¥याऊ
शरीरका अंगमध्ये सबैभन्दा महत्वपूर्ण अंग आँखा हो । यसको स्याहारसुसार गरिएन भने आँखासबन्धी विभिन्न रोग लाग्ने गर्दछ । ती रोगहरुको समयमै उपचार गरिएन भने जीवन नै अन्धकारमय हुन्छ । त्यसैले आजैदेखि आफ्नो आँखालाई हरेक तबरबाट जोगाऔं । आँखालाई स्वस्थ राख्नका लागि हरियो सागसब्जी, मेवा, गाँजर, फर्सी, ब्रोकाउली जस्ता भिटामिनयुक्त तरकारी तथा फलफूल नियमित सेवन गरौं । आँखाका रोगीले डाक्टरको सुझाव अनुसारको औषधि प्रयोग गर्नुका साथै चस्मा प्रयोग गर्ने सिफारिस गरिएकाहरुले नियमित रुपमा चस्मा प्रयोग गरौं । बाहिरी वातावरणमा घुलो–धुवाँ र फोहोर–कसिङर हुने भएकोले आँखामा समस्या आउने गर्दछ । त्यसैले घरभित्र गएपछि चिसो पानीले मुख धुने बानी बसालौं । चर्को घाममा बाहिर जाँदा सूर्यका हानिकारक किरणहरु जस्तै परावैजनिक किरण आदिबाट आँखालाई जोगाउनका लागि युभी प्रोटेक्सन भएका चस्मा लगाउनु पर्दछ । आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एक पटक विशेषज्ञद्वारा आँखा जाँच गराउनु पर्दछ ।


आँखाको सुरक्षाका बारे जनचेतना बढाऊ
आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एसियाली क्षेत्रमै उदाहरणीय देश हो । तथापि नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा शहरदेखि ग्रामीण भेगसम्म आँखाको रोग र यसको समयमै उपचार र रोकथामको लागि टड्कारो रुपमा जनस्तरबाटै जागरुकता ल्याउन आवश्यक देखिन्छ । जनचेतना अभावका कारण आजसम्म पनि पूर्णरुपमा अन्धोपन भइनसकेका तर कुनै न कुनै कारणबाट दृष्टि क्षमतामा कमी भएका या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित भएका नागरिक भेटिन्छन् ।

Translate »