‘नयाँ लुगा लगाउँन पाउँदा गाउँभरी देखाउँदै हिड्थें’
चितवनको गढीमा २०२६ साल माघ १० गते जन्मनु भएका घनबहादुर थापा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित आँखा अस्पतालका प्रबन्धक हुनुहुन्छ । बहुमुखि प्रतिभाका धनी थापाले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नु भएको छ । कामप्रति अत्यन्त मेहनतशील र ईमानदार थापाले कुशल प्रबन्धक समेत हुनुहुन्छ । उहाँले प्रबन्ध गरेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालले कर्णालीका सर्वसाधारणलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । गत आर्थिक वर्षमा मात्र आँखा अस्पताले कर्णालीका करिब ६० हजार सर्वसाधारणले सेवा उपलब्ध गराएको अस्पतालको तथ्यांकमा उल्लेख छ । नरम स्वाभावसँगै तार्किक विचारका धनी उनै थापासँग हाम्रा सहकर्मी निसा सोनीले ‘म सानो छँदा’ स्तम्भका लागि उहाँको बाल्यकाल बारे गरिएको कुराकानीको सार ।
मेरो जन्म चितवनको गढीमा भएको हो । पिता मानबहादुर थापा र माता दीलकुमारी थापाको कोखबाट २०२६ साल माघ १० गते ‘जेठो’ छोराको रुपमा जन्मिएको हुँ । मेरा १ दीदी र ४ बहिनी हुनुहुन्छ । मेरो माता पिता बाट दोस्रो सन्तानको रुपमा यस धर्तीमा आएको छोरा हुँ । म सानै देखि शान्त स्वभावको थिए । खासै त्यति धेरै नबोल्ने, तर साथीहरु सँग मिलेर बस्ने तथा सबैलाई राम्रो व्यवहार गर्ने खालको मेरो बानी थियो । म ६ वर्षको उमेरदेखि लेखाई पढाई थालेको हुँ । हाम्रो परिवार सामान्य खालको कृषक परिवारसँगै बुवाले राजनीति पनि गर्नु हुन्थ्यो । खान लगाउन त्यति साह्रै दुःख त थिएन् । बुवाले सधै पढ्नुपर्छ भन्ने हौसला र प्रेरणा दिनु हुनथ्यो । मेरो पहिलो विद्यालय श्री नेपाल राष्ट्रिय प्राथामिक विद्यालय धवलागिरी हो । कक्षामा सधैं म द्वितीय स्थानबाट उर्तिण हुँदै आएको थियें । स्कूली शिक्षा लिँदा २ वटा विद्यालय बद्लेको छु । २०४४ सालमा श्री आदर्श निम्न माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हुँ । प्राथमिक शिक्षा लिँदासम्म त सर्ट, हाप पाइन्ट लगाएरै स्कूल गईयो । तर पछि ८ कक्षादेखि स्कूलको पोशाक नै लगाएर जानु पर्ने बाध्यकारी नियमले सर्टसँगै पाइन्ट लगाईयो । घरमा आमा र दीदीलाई काममा सघाउनु पर्थ्यो । तर विदाको समयमा चाँही घास काट्न जाने, गोठला जाने खेतबारी जोत्ने जस्ता कामकाज गरेर समय बच्यो भने खेलकुद पनि खेलियो । मेरो पढाई मध्यम् खालको नै थियो । बिज्ञान विषय बढी पढ्न मन पथ्र्यो । मनपर्ने शिक्षकको नाम लिनु पर्दा शेरबहादुर गुरुङ्ग सरको नाम लिन चाहन्छु । उहाँ एकदम बहुप्रतिभाशाली शिक्षक हुनुहुन्थ्यो । उहाँको पढाउने तरिकाबाट म साहै्र प्रभावित थिएँ । मेरो पे्ररणाको स्रोत पनि उहाँ नै हो । उहाँको अभिभावकहरुसँग बढी हिलमिल हुने बानी थियो । स्कूल पढ्दा मनपर्ने साथिहरु मध्ये कृष्णराज थापा, कर्णबहादुर थापा , रामचन्द्र तिवारी थिए । हामी एकदम मिल्ने साथी हौं । नयाँ लुगा लुगा लगाउन पाउँदा फुरुङ्ग खुशी भएर गाँउभरी देखाउँदै हिडिन्थ्यो । ती दिन सम्झदा आज पनि हाँसो लागेर आउँछ । एक दिन ५ कक्षा पढ्ने बेलामा हामीहरु रुखमा खेल्थेंउ एउटा हाङगाबाट हर्को हाङगामा जाने बेलामा चिप्लेर खस्दा चोट लागेको त्यो दिनको सम्झना पनि ताजै छ । ९ कक्षामा पढ्ने बेलाको समय हो । एक दिन शिक्षकहरुले राम्रो पढाएनन् भनेर साथीहरुले कुरा गर्न विद्यालयको अफिसमा लगें । त्यहाँ उनीहरुले प्रधानाध्यापकको मुखमा कालो मोसो दल्ने योजना बनाएका रहेछन् । उनीहरुले प्रधानाध्यापकको मुखमा कालोमोसो दलेर नै छाडे । म भने त्यो योजना थाहा पाउने वित्तिकै कालोमोसो दल्नु भन्दा पहिले नै त्यहाँबाट साइट लागि हालें । साथीहरुको अराजक र हिंसक गतिविधिप्रति मेरो शुरु देखि नै विरोध थियो । पछि उनीहरुसँग म नजिक भएपनि साथ कहिल्लै दिएन । साथीहरुले मलाई डरपोक, जे भने नि अराजक तथा हिंसक गतिविधिको म विरोधी भईरहें । पहिलेको पढाई आधुनिक नभए पनि व्यवस्थित थियो । सरहरुले कुनै पाठ कण्ठ गरेर आउनु भने पछि कण्ठ गरेर नै आउनु पर्थ्यो । पहिलेको पढाई घोगन्ते थियो । घोगन्ते भएपनि एकदम व्यवहारिक थियो । अहिले परसेन्ट एकदम हाई छ तर क्वालिटी छैन् । सरहरुले दिएको काम गर्नुपर्छ, नभए सरले पिट्नु हुन्छ भन्ने एक प्रकारको डरले पढ्ने बानीको विकास हुन्थ्यो । अहिले शिक्षामा प्रविधिको विकास भएपनि त्यति व्यवहारिक छैन् । त्यति बेलाको बच्चा र अहिलेका बच्चाको तुलना गर्ने हो भने अहिलेको सिकाई भन्दा पहिलेका सिकाई अब्बल मान्न सकिन्छ । किनभने त्यतिबेला हामी पढेको नबुझेंसम्म घन्टौं लाएर पढथेंऊ । अहिले सिकाई पहिलेको जस्तो छैन । यदी मैले शिक्षा आर्जन नगरेको भए म आज यो स्थानमा हुन्थेन् । आज शिक्षाकै कारण म यो स्थानसम्म आईपुगेको हुँ । अहिले म नेपाल सोसाइटी आँखा अस्पतालको व्यवस्थापक भएर काम गरिरहेको छु । त्यसैले मैले शिक्षालाई जीवन रुपान्तरणका लागि महत्वपुर्ण पाटोको रुपमा लिएको छु । अहिलेको शिक्षा परिदृश्य हेर्ने हो भने पहिले हामीलाई एसएलसी दिइसके पछि कुन विषय पढनु पर्छ भनेर गाइड गर्ने मान्छे नै हुँदैनथ्यो । अहिले विद्यार्थीलाई भन्दा स्वयम् अभिभावकलाई नै एसएलसी पछि सन्तानलाई कुन विषय पढाउँदा राम्रो हुन्छ भनेर आफैले जान्नु बुझ्न ईच्छुक हुन्छन् । अहिले पढ्नका लागि किताब खोज्नु पर्र्ने लाइबेरी धाउनु पर्ने अवस्था छैन । अहिलेको शिक्षा एकदम प्रतिस्पर्धात्मक छ । पहिले थोरैले पढ्थे थोरै पास हुन्थे र सबैले जागिर पाउथें । तर अहिले सबैले पढ्छन्् र कमले जागिर पाउछन् । त्यसैले अहिलेको शिक्षामा थप चुनौती थपिएको छ । पहिले शिक्षकहरु विषयवस्तु पढेको हुनु हुनथ्यो । त्यति बेला शिक्षकको अभाव थियो । तालिम प्राप्त शिक्षकको कमीले परम्परागत शैलीको शिक्षण पद्धती थियो । अहिले सबै शैक्षिक वातावरणमैत्रीसँगै समय सापेक्ष आधुनिक भएका छन । शिक्षाका लागि अहिले पर्याप्त शिक्षण सामाग्रीको प्रचारप्रसार भईरहेको हुन्छ । विभिन्न टेक्नोलाँजीको विकास भइसकेको छ । अहिले बच्चा घरमै बसेर सम्पूर्ण कुराहरु नेट सर्च गरेर ज्ञान आर्जन गर्न सक्छन् । त्यसैले अहिलेको अवस्था एकदम सहज र सुलभ छ । म विद्यार्थी भाई बहिनीहरुलाई के भन्न चाहन्छु भने शिक्षा हाम्रो भित्री आखाँ हो । हामीले लिएर आएको बाहिरी आखाँ हो । शिक्षा भित्री आखाँ हो त्यो सबैलाई चाहिन्छ । र शिक्षा भित्र पनि आफ्नो इच्छा के हो, त्यो विषय समाउनु पर्छ । कसैले भनेर यो पढ्नुपर्छ, त्यो पढ्नु पर्छ भन्दा पनि आफ्नो इच्छा के हो त्यो विषयमा दखल भयो भने त्यसमा विज्ञता हासिल गर्यो भने त्यो नै सफलता हो । विषय छानेर त्यो विषयमा ज्ञान हासिल भएन भने त्यो विषय छान्नुको कुनै अर्थ नै हुँदैन । त्यसैले आफ्नो भविष्य बनाउने आफैले हो । सिर्जनाको ढोका आफैले खोल्नु पर्छ । विद्यार्थीले यस कारणले आफ्नो समय मन मष्तिक लगाएर पढ्नुहोस् । आफ्नो भविष्य सुरक्षित गर्नुहोस् । यसका लागि यो समय तपाईको अवसर हो । यो अवसरलाई ग्रहण गर्नुहोस् । यी कुराहरुमा विद्यार्थी भाईबहिनीलाई म आग्रह गर्दछु ।