सुर्खेतमा विदाको दिनपनि बजार अनुगमन

प्रजिअद्वारा सगरमाथा मिठाइ पसलमा छड्के

स्काई न्यूज/असोज १८, सुर्खेत ।
बजार अनुगमन समिति सुर्खेतले बिदाको दिनमा पनि बजार अनुगमन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आज साँझ ७ बजे तीर एक्कासी सुर्खेत सदरमुकाम वीरेन्द्रनगर चोकको चर्चित सगरमाथा मिठाई पसलको छड्के अनुगमन गरेपछि आसपासका मिठाई पसलमा हल्ला खल्ला मच्चिएको छ ।  चाडपर्वका बेला मिसावट गरि गुणस्तरहिन खाद्य एवम् मिठाई जस्ता वस्तुहरु विक्री वितरण भईरहेको जनगुनासो आएपछि सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन भएको हो । अनुगमनका क्रममा सगरमाथा मिठाई पसलको भान्सामा अत्यन्त फोहर तथा अव्यवस्थित रहेको पाईएकाले तत्काल बन्द गर्न निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।

प्रजिअ अधिकारीले बजारमा कुनैपनि प्रकारले ठगी तथा कानूनविपरीतको कार्य भएको भेटिए तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गरिने बताए । उनका अनुसार बजारमा कुनैपनि प्रकारको जनगुनासो भए तत्काल जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयमा सिधै सम्पर्क गर्न सकिने छ ।

Translate »