सडक सञ्जालको विस्तारले गाउँको मुहार फेरिँदै

रुट पर्मिट नहुँदा यातायात सञ्चालनमा समस्या

आकाश तारा बयक /जेठ १६, सुर्खेत ।
सडक सञ्जाल बिस्तार भएसंगै पश्चिम सुर्खेतका गाउँहरुको मुहार फेरिँदै गएको छ । केही बर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिड्नुपर्ने बाध्यतालाई सडक बिस्तारले त्यो हटाएको हो । गाउँमा कुनै मान्छे बिरामी परेपछि उपचारमा लैजान समस्या हुने गरेको थियो । ‘पछिल्लो समय सडक बिस्तारसंगै यातायातका सवारी साधन गुड्न थालेपछि सर्वसाधारणलाई आवत–जावतमा समेत सहज भएको छ,’ पञ्चपुरी नगरपालिका–११, निवासी भगे कामीले भने, ‘बिरामी हुँदा समयमै उपचारमा  लैजान नपाउँदा कयौैंले अकालमै ज्यान गुमाउनु परेको थियो, अब त्यो समस्या रहेन ।’

सडक अभावमा यसअघि सदरमुकाम वीरेन्द्रनगर पुग्न दुई दिनसम्म लाग्ने गरेको थियो । ‘सडक नहुँदा सदरमुकाम पुग्न निकै समस्या हुने गरेको थियो,’ उनले भने, ‘हाल १ दिनमै सदरमुकाम पुगेर फर्किन सकिन्छ ।’ ग्रामीण क्षेत्रमा सडकमा गाडी चल्न थालेपछि गाउँमा उत्पादित कृषि उत्पादनहरु सहजै  बजारसम्म लैजान सजिलो भएको छ ।

अहिले पश्चिम सुर्खेतका गाउँहरुमा उत्पादित कृषि उपजले बजार पाउनुका साथै किसानहरु व्यवसायिक खेती तर्फ लाग्न थालेका छन् । सडक सञ्जालसँग गाउँहरु जोडिएपछि दैनिक उपभोग्य सामान भरिया लगाएर बोकाउनु पर्ने बाध्यता अहिले अन्त्य भएको स्थानीय व्यापारीको भनाई छ । सडक विकासको पूर्वाधारमा पर्ने भएकाले सडक विस्तार हुँदा पश्चिम सुर्खेतमा आमूल परिवर्तन उन्मुख रहेको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले बताए । सडक विस्तारले ग्रामीण अर्थतन्त्र क्रियाशिल भएको उनको भनाइ छ । उनका अनुसार पञ्चपुरीका सबैजसो वडामा सडकले छोएको छ ।


समृद्धिका लागि जामु पुल
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदी माथिको  पुललाई समृद्धिको रुपमा हेरिएको छ । पुल बनेपछि गल्फ र तिखाकुना गाउँलाई मात्र जोडेको छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्ट ट्¥याक बन्नेछ । पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पु¥याउने भएकाले पुल निर्माणले पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्दैछ । सामरिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिएको त्रिदेशीय चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्¥याक निर्माणका लागि गम्भीर रुपमा लागेको नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट बताउँछन् । सरकारले केन्द्रीय प्राथमिकतामा राखेर उक्त फाष्ट ट्¥याकलाई कर्णाली कोरिडोरहँदै तिब्बतसँग जोडिने योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ । फाष्ट ट्¥याक निर्माणपछि सुर्खेत, अछाम, कैलाली बाजुरा, डोटी र साविक कर्णालीका चार जिल्लाका ३० लाखभन्दा बढी जनता लाभान्वित हुने छन् ।


रुटपर्मिट नहुँदा सास्ती
अहिले पञ्चपुरी नगरपालिकाकै कुइने, तातापानीदेखि जामुपुल हुँदै चौकुनेको गुटु, बाबियाचौर, बराहतालको बड्डीचौर तथा सदरमुकाम वीरेन्द्रनगरलगायतका सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि सडक स्तरोन्नती तथा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको छ । रुट परमिट नभएका यात्रुबाहक सवारी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएपछि चाडपर्वका बेला घर फर्किने यात्रुहरु मारमा परेका छन् । अहिले वीच–वीचमा प्रशासनले चेकजाँच गर्न थालेपछि सवारी साधन नचल्दा यात्रु नै बढी मारमा पर्ने गरेको नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टले बताए । उनले सडकमा यात्रुबहाक सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले रुट पर्मिट नदिएका कारण समस्या भएको जनाए । ‘चाडपर्वका बेला सडक नपुगेका स्थानसम्म सडक पु¥याउनुको साटो रुटपर्मिटका नाममा यातायातका सवारी साधानमा रोक लगाउनु गलत हो,’ उनले भने, ‘चाडपर्वका बेला यस क्षेत्रका अधिकांस नागरिक भारतलगायत वैदेशिक रोजगारीबाट फर्किने हुँदा सवारी साधान सञ्चालनमा रोक नलगाउन म आग्रह गर्दछु ।’ उनले नागरिकलाई सहजरुपमा आवत–जावत गर्न पाउने गरि विकल्पसहित यातायातका सवारी साधानमा रोक लगाउन स्थानीय प्रशासनलाई सुझाव दिए ।


यता स्थानीय प्रशासनले भने चाडपर्वका बेला यात्रुको चाप बढी हुने भएकाले क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना हुने हुँदा रुटपर्मिट नभएका सडकमा कडाई गरिएको जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले चाडपर्वलाई लक्षित गरि सुरक्षित तथा मर्यादित बनाउन शान्ति सुरक्षासँगै सवारी दुर्घटना रोकथामका लागि चेकजाँचमा कडाई गरिएको बताए । उनले रुटर्मिट नभएका सडकमा सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुका साथै बढी भाडा असुल्ने गुनासो आईरहेकाले अनुगमन समेत बढाईएको जनाए । रुटपर्मिट नभएका सडकमा सवारी साधनमाथि स्थानीय प्रशासनले कडाई गरेपछि सर्वसाधारणलाई भने समस्यामा परेका हुन ।

यता पञ्चपुरी नगरपालिकाका मेयर थापाले रुट परमिट दिन प्रक्रियागत रुपमा केही दिन लाग्ने भएकाले अस्थायी रुट परमिट जारी गरेर तत्कालका लागि समस्या समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको बताए । तर, अस्थायी रुट परमिटका लागि प्रक्रिया भने अघि बढेको छैन । चाडपर्व नजिकिएसँगै अब अस्थायी रुट परमिट लिन तत्काल सम्भव नरहेको यातायात व्यवसायीहरु बताउँछन् । पश्चिम सुर्खेतका विभिन्न स्थानमा जाने यात्रुवाहक बसको रुट परमिट नभएपछि ग्रामीण सडकहरुमा सञ्चालन हुँदै आएका सवारीका साधनहरु सञ्चालनमा कठिनाई आउने गरेको छ । सवारी साधन सञ्चालन रोकले स्थानीय नागरिकहरुले दुःख पाएको भन्दै समाधानको बाटो तत्काल खोज्न सरोकारवालाले आग्रह गरेका छन् ।

Translate »