अखाद्य मिठाई बेच्ने पसलमा सिलबन्दी

कोसेली मिठाई पसल र सगुन स्वीट हाउसमा अखाद्य

असोज १५, सुर्खेत ।
संयुक्त बजार अनुगमन टोलीले वीरेन्द्रनगरको मंगलगढी चोक स्थित अखाद्य मिठाई बेच्ने दुई वटा पसलमा सिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले बुधबार मंगलगढी चोक आसपासमा अखाद्य मिठाई बेच्ने कोसेली मिठाई पसल र सगुन स्वीट हाउसमा सिलबन्दी गरेको गरेको हो ।

अनुगमनको क्रममा समोसा तथा मिठाईलाई हाफ पाइन्टले छोपेको, मिठाई तथा चट्नीमा अत्याधिक मात्रामा रंग मिसाएको, खाद्य वस्तु सफा कपडाले नछोपेको, तेललाई पटक–पटक प्रयोगमा ल्याएको, मिठाई बनाउने भान्सा अत्यन्तै फोहार, भाडा धुने स्थल गन्दगीले झिन्गा भन्केको, शुद्ध पिउने पानी नराखेकोलगायत फेला परेकाले पसल सिलबन्दी गरिएको खाद्य निरीक्षक भेषबहादुर थापाले जानकारी दिए । उनले कोसेली मिठाई पसल, सगुन स्वीट हाउस र लुम्विनी मिष्ठान भण्डारमा अखाद्य वस्तु मिसावट गरेर मिठाई नबनाउन पटक–पटक सुझाव दिँदा पनि अटेरी गरेकाले पसलमा सिलबन्दी गरिएको बताए । उनका अनुसार ती ३ वटा पसलबाट ५ थान मिठाईको नमूना संकलन गरि परीक्षणका लागि प्रयोगशाला पठाईनेछ । संकलन गरिएको मिठाई प्रयोगशाला परीक्षणबाट अखाद्य वस्तु मिसावट गरेको प्रमाणित भएमा खाद्य ऐन २०२३ अनुसार ५ वर्ष कैदसँगै ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको उनको भनाइ छ ।


अखाद्य मिठाई बेच्ने तीन वटा सफललाई विहीबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको अनुगमन समितिका सदस्य तथा प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए । सरकारले दशै, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन वीरेन्द्रनगरलगायत जिल्लाका मुख्य–मुख्य बजारमा अनुगमनको कामलाई तीव्रता दिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कार्वाही हुने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Translate »