शहर भन्दा सुर्खेतका ग्रामीण बजार अनुशासित

पञ्चपुरी पुग्यो बजार अनुगमन टोली

नवराज जैसी /असोज १३, सुर्खेत ।
‘अनुशासन’ भन्नाले सामाजिक, आर्थिक, नैतिक, धार्मिक, राजनैतिक आदि समाज उपयोगी नियमको मर्यादामा रहने काम भन्ने बुझिन्छ । अनुशासन भनेको नियमपालना हो । प्रकृतिले पनि नियमको पालना गरिरहेको हुन्छ । पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको हुन्छ । यसै आधारमा दिन र रातको प्रक्रिया चालू भइरहन्छ । विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ । जाडो र गर्मीको मौसम पनि नियमानुसार नै आउँछन, जान्छन् ।
अनुशासन भन्दा पनि अब आत्मअनुशासन महत्वपूर्ण छ । आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो । अर्थात अनर्थ, अनैतिक कामहरुबाट आफुलाई रोक्नु हो । जब हामी आत्म अनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ ।


यतिबेला ठूला चाडपर्व नजिकिँएसँगै सुर्खेतमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा संयुक्त बजार अनुगमन टोली शहरदेखि गाउँ पसेको हो ।  सोमबार सदरमुकाम वीरेन्द्रनगरबाट पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौर पुगेको संयुक्त बजार अनुगमन टोलीले शहर भन्दा ग्रामीण बजार अपेक्षाकृत अनुशासित रहेको पाएको बताएको छ । ‘टोलीले औषधी पसल, होटल, खाजा, नास्ता पसल, किराना तथा खाद्य गोदाममा गरेको अनुगमनका क्रममा अधिकांस पसलहरु उपभोक्ता मैत्री सामान्य नियमको पालना गरेको पाइयो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले भने, ‘यति बेला जिल्लाका शहरका पसलहरु भन्दा ग्रामीण बजार व्यवस्थितसँगै अनुशासित रहेको पाईयो ।’ उनले बाबियाचौरका धेरैजसो खाद्य तथा किराना पसलहरुमा मूल्य सूची रहेको, खाद्य तथा अखाद्य वस्तुहरु फरक–फरक राखेको, पसल दर्ता गरेको र म्याद नाघेका वस्तु अलग्गै राखेको पाईएको बताए । उनका अनुसार १५ वटा खाद्य तथा किराना पसलमा गरिएको अनुगमनमा ३ वटा पसलमा मात्र केही वस्तुको म्याद नाघेको पाईएको थियो । टोलीले म्याद नाघेका, सडेगलेका खाद्य वस्तुहरु जफत गरि ‘अन द स्पट’ कारवाही अन्तर्गत बाबियाचौरमै नष्ट गरेको छ ।

बजार अुनगमनमा पञ्चपुरी नगरपालिकाका उपमेयर तथा अनुगमन संयोजक मुक्तिदेवी रेग्मीले बाचियाचौरको बजार अपेक्षाकृत सुधारोन्मुख रहेपनि अझै उपभोक्ता सचेतना फैलाउन आवश्यक रहेको बताईन् । उनले बाबियाँचौरमा पटक–पटक हुने बजार अनुगमनले सुधार भएपनि मुल नै फोहर रहेकाले निर्यातजन्य खाद्य वस्तुमाथि बढी निगरानी राख्न आवश्यक रहेको औल्याईन् । उनका अनुसार नगरपालिकाले स्थानीय व्यवसायीलाई थप जिम्मेवार बनाउन सचेतना कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । यता मौसमी अनुगमन गर्दै आएको स्थानीय प्रशासनले बजार अनुगमनको कामलाई अहिले तीव्रता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बजार अनुगमनको कामलाई तीव्र रुपमा अगाडि बढाइएको बताए । ‘चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढी हुने हँुदा व्यवसायीले उपभोक्ता ठग्न सक्छन,’ उनले भने, ‘बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि रोक्न नियमित रुपमा बजार अनुगमनको कामलाई अगाडि बढाइरहेका छौं ।’ चाडपर्वमा बजारमा किनमेल धेरै हुँदा व्यवसायीले उपभोक्ता ठग्न सक्ने हुँदा अनुगमनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाइएको उनको भनाइ छ । संयुक्त बजार अनुगमन टोलीले गत असारदेखि नै क्षेत्रगत रुपमा बजार अनुगमन गर्दै आएको छ ।


टोलीले दिनहुँजसो भिन्नभिन्न क्षेत्रमा अनुगमन गर्दै आइरहेको छ । विशेषगरी खाद्यान्न, यातायात, तरकारी फलफूल, पेट्रोलियम पदार्थ, औषधि पसल, माछामासुलगायतका क्षेत्रमा टोलीले अनुगमन गरिरहेको छ । बजार अनुगमनका क्रममा कैफियत फेला परे त्यस्ता सामान तत्काल नष्ट गरी कारबाही गरिएको टोलीले जानकारी दिएको छ ।


उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले बजार अनुगमन भए पनि अझै व्यवस्थित र मर्यादित बन्न नसकेको बताए । ‘बजारमा मिसावट, तौलमा कमी, म्याद नाघेका सामान, लेबल नभएका, मूल्यसूची नराखी सामान बेच्ने जस्ता समस्या बढी छन,’ उनले भने, ‘उपभोक्ता ठग्ने व्यवसायीलाई तत्काल कारबाही नहुँदा बजार व्यवस्थित बन्न सकेको छैन ।’ बजारमा व्यवसायीले नुनदेखि सुनसम्ममा ठगिरहेका छन । टोलीले नियमितरुपमा बजार अनुगमन गरे पनि प्रभावकारी नहुँदा बजार व्यस्थित बन्न सकेको छैन ।

Translate »