जनशक्ति अभावले सुरक्षा चुनौती थपिँदै

२३ को दरबन्दीमा ८ जना कार्यरत

आकाश तारा बयक /जेठ ११, सुर्खेत । 

नेपालीमा चलन चल्तीको उखान छ, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बीड ।’ यस्तै खुर्पाको बीडको ज्वलन्त उद्दारण बनेको छ, पश्चिम सुर्खेतको गुटुमा रहेको ईलाका प्रहरी कार्यालय । अपर्याप्त जनशक्ति तथा स्रोत साधनको अभावले यो ईप्रका गुटु अहिले सरकारी उपेक्षाको शिकार भएको छ । ईप्रका भित्र पसेर झट्ट हेर्दा लाग्छ यो कुनै दुर्गम गाउँको प्रहरी चौकी हो । झण्डै एक दशक अघि नागरिकलाई शान्ति सु्रक्षा तथा अमन चयन दिने उद्देश्यले स्थापना भएको ईप्रका गुटुमा अपर्याप्त जनशक्तिसँगै स्रोत साधनको अभावले दिनप्रतिदिन दयनिय बन्दै गएको छ । सरकारी वेवास्ताका कारण उपेक्षित बनेको ईप्रका गुटुले आफ्नै भवन नभएपनि भाडाको सानो घरबाटै नागरिकलाई सक्दो सेवा सुविधा दिईरहेको दावी गर्छ । जनशक्तिसँगै भौतिक स्रोत–साधानको अभावमा पनि ईप्रका गुटुले नागरिकलाई निरन्तर शान्ति सुरक्षा दिईरहेको निमित्त ईन्चार्ज प्रहरी सहायक निरीक्षक शिवप्रसाद पौडेलले बताउँछन् । २०६८ सालको जनगणना अनुसार चौकुने गाउँपालिकाको कुल जनसंख्या २५ हजार २ सय ४० रहेको उल्लेख छ । चौकुने गाउँपालिकामा साविकका लगाम, बेतान¸ विजौरा, गुट र घाटगाउँ गाउँ विकास समितिहरु मिलेर बनेको हो । चौकुने गाउँपालिकाको क्षेत्रफल करिब ३८१.०३ वर्ग किलोमिटर रहेको छ । यति धेरै क्षेत्रफल ओगटेको चौकुने गाउँपालिकामा एक जना सुरक्षाकर्मीले ३ हजार १ सय ५५ जना नागरिकको सुरक्षा गर्नुपर्ने बाध्यता छ । २३ जना दरबन्दी रहेको ईप्रका गुटुमा हाल ८ जना मात्र कार्यरत छन् ।
‘पर्याप्त स्रोत साधन विनै प्रहरीलाई सुरक्षामा खटाइने चलनले उनीहरुको मनोबल घटेको छ,’ तत्कालीन गुटु गाउँ विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी काशीराम देवकोटाले भने, ‘अहिलेपनि प्रहरीप्रति नागरिकको विश्वास र सम्मान रहेकाले त्यही अनुरुपका अपेक्षाहरु पुरा हुन सकेका छैनन् ।’ उनले रुपान्तरित प्रहरीलाई समय सापेक्ष आवश्यक सेवा सुविधासहित डियूटीमा खटाउन सकिए मात्र नागरिकका अपेक्षा पुरा हुने जनाए । ‘न्यून जनशक्ति, स्रोत साधन अभाव जस्ता समस्याले गाउँमा कुटपिट तथा झै झगडा भएका खबर प्रहरीमा पुगेपनि समयमा पुग्न नसक्नु ईप्रका गुटुका समस्या हुन्,’ उनले भने, ‘पश्चिम सुर्खेतको सबै भन्दा ठूलो बजारको रुपमा हेरिको गुटुमा जुँवातास, मदिरा, झैझडगा, महिला हिंसाका घटनाहरु प्रायः सामान्य जस्तै हुन् ।’


कसरी गर्छन त प्रहरीले गुटुमा डियूटी ?
पश्चिम सुर्खेतमा सबैभन्दा बढी झैझगडा, सामान्य किचलोदेखिका असामाजिक घटना हुने क्षेत्रको रुपमा गुटुलाई हेरिन्छ । त्यहाँको सुरक्षाका लागि ईप्रका गुटुमा ८ जना प्रहरी कार्यरत रहने गरेका छन् । ती मध्ये एक जना भान्से, एक जना सेन्ट्री, दुई जना राउण्ड, एक जना गाउँपालिकाको कार्यालयतर्फ, एक जना सवारी साधन ईन्ट्री र एक जना ईन्चार्ज, एक जना कार्यालयको काममा ब्यस्त हुन्छन । दुई जनाले मात्रै गस्ती गर्दा कसरी सुरक्षा व्यवस्था कायम हुन सक्छ ? अब यस्तै कर्मकाण्डी हिसावले सुरक्षा व्यवस्था बलियो बनाउन सकिदैन । त्यसैले जनशक्ति थप्नै पर्छ,’ गुटुका स्थानीय कमल जिसीले भने । अहिले पनि साविकको बेतान गाउँपालिकामा सुरक्षा पोष्ट नहीं छैन् । त्यहा अहिले ६ सय मेगावाटको बेतान कर्णाली आयोजनाका आधारभूत कामहरु भईरहेका छन् ।


चौकुने सरकारको सुरक्षा योजना
स्थानीय सरकारले साविकका सबै गाउँपालिकामा एक/एक वटा प्रहरी चौकी स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले ईप्रका गुटुमा आवश्यक स्रोत साधनसहितका प्रहरी खटाउन समबन्धित पक्षलाई अनुरोध गरिरहेको बताए । उनले प्रहरीकै माथिल्लो निकायसँग हाल ‘ख’ वर्गको ईप्रका गुटुलाई स्तरोन्नती गरि ‘क’ बनाएर प्रभावकारी सुरक्षा व्यवस्था मिलाई दिन माग गरेको समेत जानकारी दिए । सिमित हतियार, जनशक्ति र दिनहुँ आइपर्ने कार्यालय प्रयोजनसहितका सामाजिक समस्या समाधान र छलफलमा उपस्थित हुनुपर्ने बाध्यतासँगै बढ्दो जनसंख्या रहेको गुटुमा शान्ति सुरक्षा कायम गर्न प्रहरी कति सक्षम छ ? यो विषयमा केन्द्रीय स्तरमै नेतृत्वले सोच्नु पर्ने स्थानीय युवा कमल जिसीले बताए । ‘रक्सी खाएर राति पुलिसलाई नै धम्काउनेहरु भेटिन्छन,’ ईप्रका गुटु नजिकैका एक स्थानीयले भने, ‘सवारीसाधन र हतियारको त के कुरा, प्रहरीको आफ्नै भवनसमेत छैन ।’ दरबन्दी अनुसारका जनशक्ति नहुँदा प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिरहेको छैन ।


जिल्लामै प्रहरीको पदपूर्ति भएन
जिल्ला प्रहरी कार्यालयमा लामो समयदेखि प्रहरी जवान पदपूर्ति नहुँदा शान्ति सुरक्षामा कठिनाइ भईरहेको छ । ५ सय ६९ को दरबन्दी तोकिए पनि करिब सय जना कम प्रहरी जिल्लामा कार्यरत छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थापना गरिए पनि जिल्लामा प्रहरीको दरबन्दी थप भएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज पन्तले ग्रामीण भेगका प्रहरी चौकीको अवस्था निकै नाजुक रहेको स्वीकार गरे । उनले देश संघीय संरचनामा गइसकेकाले केन्द्र, प्रदेश र जिल्लामा दरबन्दी मिलानको काम बाँकी नै रहेकाले जनशक्ति व्यवस्थापनमा ढिलाइ भइरहेको बताए । उनका अनुसार अबको एक/दुई महिनामा प्रहरीको समायोजन कार्य सम्पन्न हुने वित्तिकै दरबन्दी अनुसार सुरक्षाकर्मी परिचालन गरिने छ । बर्सेनि बढ्दो जनसंख्या, भूगोल र प्रदेश राजधानी भएकाले त्यसको अनुपातमा प्रहरीको दरबन्दी सुर्खेतमा निकै न्यून छ ।

पश्चिममा ट्राफिक नहुँदा सवारी जाँच हुँदैन
पश्चिम सुर्खेतको बड्डीचौरपछि ट्राफिक प्रहरी खोजरेपनि भेटिदैन् । जिल्लामा ट्राफिक प्रहरीको अभावको कारण बड्डीचौर–गुटु–बेनिघाट सडकमा करिब ३ महिनायता ट्राफिक गस्ती हुन सकेको छैन । पश्चिमको पञ्चपुरी नगरपालिकाको बाबियाचौर ईलाका प्रहरी कार्यालय र चौकुने गाउँपालिकाको गुटु ईलाका प्रहरी कार्यालयमा अस्थायी ट्राफिक प्रहरी पोष्ट खडा गरेर एक/एक जना ट्राफिक प्रहरी नियुक्त गरिएको थियो । तर, काजमा आएका ट्राफिक प्रहरीलाई फिर्ता बोलाईएपछि विगत दुई महिना बढी समयदेखि ती ट्राफिक पोष्टहरु अलपत्र छन् । मदन भण्डारी राजमार्ग कायम गरिएको करिब ९५ किलोमिटर सडकमा ट्राफिक नहुँदा सवारी जाँच समेत हुन नसकेको स्रोत बताउँछ ।

Translate »