गाउँ पस्यो बजार अनुगमन टोली

ढक–तराजुबाटै ठगिँदै उपभोक्ता

आकाश तारा बयक /असोज ७, सुर्खेत ।
यस वर्ष पहिलो पटक बजार अनुगमन टोली बजार नियन्त्रण तथा नियमन गर्न गाउँ पसेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी सहित गाउँ पसेको बजार अनुगमन टोलीले पूवी सुर्खेतका बोटेचौर, मेहलकुना र छिन्चुमा बजार नियन्त्रण तथा नियमन गर्न मंगलबार ढक तथा तराजुको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा बजार अनुगमन समितिका सदस्य उत्तम शर्माको नेतृत्वमा गएको टोलीले बोटेचौर, मेहलकुना र छिन्चु लगायतका ३५ पसल र फुटपाथका करिब ५० पसल अनुगमन गरी अधिकांश तराजु र ढकहरु मापदण्ड विपरित, दर्ता नगरिएका, अत्यन्तै फोहोर, खिया लागेका, प्वाल परेका, प्लास्टिकको डोरी प्रयोग भएका, चुम्बक टाँसिएका र ढुंगा समेत प्रयोग गरेका करिब ७० ढक तथा तराजु जफत गरेको छ । ग्रामिण क्षेत्रमा रहेका पसलहरुमा उपभोक्तालाई नापतौलमा सरेआम ठगि गर्ने गरेको पाईएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । उनले नापतौलमा उपभोक्ता ठगि गर्नेहरुलाई हदैसम्मको कारवाही गरिने बताए ।


नापतौलमा दिनदिनै ठगिँदै उपभोक्ता
स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । ‘बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलिदा सधैं तौल कम भएको पाइएको भेरीगंगा नगरपालिका–१२, चन्द्रकला विकले भनिन्, ‘बजारबाट ल्याएको एक किलो तरकारी घर ल्याएर तौलँदा २०० ग्राम घट्छ त्यस्तै हाल किराना पसलबाट ल्याइएका सामानको पनि छ ।’ उनले बजारका स्थायी पसल र साप्ताहिक हटियामा ढुंगे ढक र परम्परागत तराजुको प्रयोगमा प्रतिबन्ध लगाएर कारबाही नगरेसम्म व्यापारीहरुले तौलमा ठगिनै रहने बताईन् । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामे ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको पाइएको गुर्भाकोट नगरपालिका–८, का भविसरा विकले बताईन् । बजार र पसलमा नापतौल व्यवस्थापन, अनुगमन गर्ने निकाय स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र नापतौल तथा गुणस्तर कार्यालयले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको उनले उल्लेख गरिन् । ‘नेकपा भेरीगंगाका सक्रिय कार्यकर्ता यामजी कँडेलले भने, ‘निश्चित दायित्व निर्वाह गर्ने कुरामा हल्लाखल्ला नभएसम्म कतैबाट वास्ता गरिँदैन ।’


पर्याप्त जानकारीको अभाव
सुर्खेत उद्योग वाणिज्य संघले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । यता किराना र तरकारी व्यापारीहरुले भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको बताएका छन् । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारबाही बढाइने संघका महासचिव लक्ष्मण कँडेलको भनाइ छ ।


चाडपर्वमा बजार अनुगमन तीव्र
गत वर्ष चाडपर्वपछि सुस्ताएको अनुगमन दसैं नजिकिँदै गर्दा पुनः शुरु भएको छ । नियमित अनुगमन नहुँदा बजारमा म्याद नाघेका खाद्य वस्तु जताततै बिक्री भइरहेको अधिकारकर्मीहरु बताउँछन् । यसका साथै किराना पसलमा मूल्यसूची नराखी उपभोक्तालाई ठग्ने काम भइरहेको उनीहरु बताउँछन् । ‘अखाद्य वस्तुसँगै उपभोक्ता ठग्ने काम पनि भइरहेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले भने, ‘बजारमा २÷४ पसलबाहेक कुनैमा पनि मूल्यसूची राखेको देखिँदैन ।’ उनले मूल्यसूची भएकाले पनि अद्यावधिक नगरेको र नदेख्ने ठाउँमा राखेको बताए । चाडपर्वका बेला मूल्यसूची नहुँदासमेत उपभोक्ताहरु ठगिइरहेको उनले बताए । त्यसै क्रममा अधिकांश खाद्य वस्तु म्याद नाघेका र लेभल नभएका बिक्री भइरहेको पाइएको छ । खासगरी बेसन, पापड, तेल, मसला र पेय पदार्थ म्याद नाघेका भेटिएका हुन् । ‘अनुगमनका क्रममा खाद्यान्न र प्याकेजिङ सामानहरु म्याद नाघेका र लेभल नभएका भेटिए,’ उनले भने, ‘विभिन्न प्रकारका अखाद्य वस्तु बरामद गरि नष्ट गरिएको छ ।’ टोलीले मंगलबार बोटेचौर, मेहलकुना, छिन्चु क्षेत्रमा रहेका फलफूल, तरकारी तथा किराना पसलहरुमा अनुगमन गरेको हो ।


मौसमी अनुगमन व्यापक बनाऊ
जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गरेको बताएपनि उपभोक्ताकर्मीले भने मौसमी अनुगमन भएको बताएका छन् । हाल अनुगमनमा रिक्सा तथा ठेलामा फलफूल, तरकारी तथा खुद्रामा बेच्ने व्यापारीको अनुगमन गरिएको भएपनि औपचारिकता निभाउने काम मात्र भएको छ । दसंै तिहारमा गरिने बजार अनुगमनलाई सरकारी निकायको नक्कली र झारो टराइको कार्य भनेर स्थानीय प्रेमप्रकाश खड्काले टिप्पणी गरे ।


स्थानीय तह जिम्मेवार बनौं
सुर्खेत उद्योग वाणिज्य संघले पनि यस्ता खालका व्यापारीलाई समेट्न सकेको छ्रैन । संघमा आबद्ध नभएकै कारण आफूले नियमन गर्न अप्ठ्यारो भएको संघका महासचिव लक्ष्मण कँडेलले बताए । ‘संघमा आबद्धलाई डिजिटल काँटा राख्न भनेका छौं, नभएकाको नियमित चेकजाँच गराउँदै पनि आएका छौं,’ उनले भने, ‘निश्चित स्थान तोक्दा समेत फुटपाथमा बसेर व्यापार गर्नेहरु आउँदैनन् । व्यापार सञ्चालन गरेबापत यस्ता व्यवसायीले केही रकम जिल्लाका स्थानीय तहलाई नै बुझाउँछन् । यसको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ, यसमा आएका समस्या समाधानको जिम्मेवारी पनि उसैको हो ।’ जिल्लाका धेरै जसो स्थानीय तहले हालसम्म उपभोक्ता तथा बजार अनुगमन ऐन निर्माण नै गर्न सकेका छैनन् ।

Translate »