सुर्खेतमा अवैध ढक तराजुले ठगिँदै उपभोक्ता

प्रमाणीकरण नगरिएका, कम तौल र बिग्रेका ढक तराजुको प्रयोग

आकाश तारा बयक /असोज ६, सुर्खेत ।
तपाईंले खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन ग¥यो कि गरेन भनेर कहिल्यै सोच्नुभएको छ ? पसलेले तौलेकै भरमा सामान किन्दै हुनुहुन्छ भने तपाईं ठगिएको पनि हुनसक्छ । दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद–बिक्री हुने भए पनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर छन् ।  गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको पाइएको छ । जसबाट थाहै नपाई उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । जिल्ला बजार अनुगमन समिति सुर्खेतले ५० प्रतिशत ढक–तराजु नियमन बाहिर रहेको बताएको छ । । नियमनमै रहेका ढक–तराजुको पनि नियमित परीक्षण हुन सकेको छैन ।


वीरेन्द्रनगर बजारमा मासु व्यवसायीसँगै तरकारी तथा फलफूलका व्यापारीले अवैध ढक र तराजु प्रयोग गरिरहेको भेटिएको छ । सोमबार गरिएको बजार अनुगमनका क्रममा व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको भेटिएको हो । हटियालाईनमा रहेका मासु पसलसँगै तरकारी तथा फलफूलको व्यापार गर्ने अधिकांशले कम तौल भएका ढक र बिग्रेका तराजु प्रयोग गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । हरेक २/२ वर्षमा नाप तौल विभागले प्रमाणीकरण गरेका ढक तराजु मात्रै व्यापारीले प्रयोग गर्न पाउने व्यवस्था छ । ‘अधिकांशले अवैध भारतीय ढक र तराजु प्रयोग गरिरहेको भेटियो,’ बजार अनुगमन टोलीका सदस्यसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्मालेले भने, ‘ढक तराजुको तौल पनि ठीक छैन ।’ उनले अनुगमनका क्रममा २५ वटा तराजु र ३६ वटा ढक बरामद गरिएको बताए । जफत गरिएका तराजु र ढकसँगै केही व्यवसायीलाई मुद्धा चलाउने तयारी गरिएको उनले जनाए । ‘व्यवसायीलाई मापदण्ड विपरितका ढक तराजु प्रयोग नगर्न यसअघि नै पटक–पटक सचेत गराएको थियो,’ उनले भने, ‘अनुगमन टोलीको निर्देशलाई आलटाल गरि उपभोक्तालाई ठगि गर्नेलाई कारबाही गर्नुको विकल्प छैन् ।’ उनले दसैं, तिहारलाई लक्षित मात्र नभई नियमित बजार अनुगमन  निरन्तरताको कडि भएको जिकिर गरे ।


यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नाप तौलमा उपभोक्तालाई ठगि गर्ने व्यवसायीलाई कारवाही गरिने बताए । उनले सोमबार वीरेन्द्रनगरमा गरिएको ढक, तराजुको अनुगमनबाट उपभोक्तालाई ठगि गरिरहेको प्रशस्त प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाई गरिने जानकारी दिए ।


उपभोक्ता सचेत नहुँदा ठगिँदै
आफू ठगिँदा उजुरी गर्नुपर्छ भनेर उपभोक्ता सचेत नभएका कारण पनि केही समस्या देखिएको स्थानीय प्रशासनका अधिकारी बताउँछन् । फलफूल, तरकारी लगायत अन्य सामानको खरिद खुला सडकमा राखिएका पसलबाट गर्दा हुने ठगी विरुद्ध सम्बन्धित निकायमा अपिल नगर्ने उपभोक्ता, उजुरीबिना कारबाही नगर्ने सरकारी निकाय र कानुनको दायरा भित्र आएर आफ्नो व्यावसायिक कारोबार गर्न नचाहने व्यापारीका कारण नापतौल सामग्रीका माध्यमबाट ठग्ने ठगिने क्रम निरन्तर जारी छ । सरोकारवालाले तत्काल यसबारे पहल नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।


कमजोर कानूनले मासु पसलबाट धेरै ठगी
इलेक्ट्रोनिक्स तराजु प्रयोग गर्ने मासु पसलबाट उपभोक्ता धेरै ठगिएको गुनासो परेको छ । १ किलो तौलमा २० ग्राम मात्रै ठग्ने मासु व्यवसायीले महिनामा ठगेरै ५० हजार रुपैयाँसम्म अतिरिक्त कमाई गर्ने गरेको भेटिएको बजार अनुगमन समितिका एक सदस्य बताउँछन् । ‘तर, हामीकहाँ कमजोर कानुन र फितलो अनुगमन संयन्त्र हुँदा थोरैथोरै परिमाणमा ठगी गरेर पनि व्यवसायीले मनग्ये आम्दानी गरिरहेका छन,’ स्रोतले भन्यो । नापतौल विभागको गुणस्तर ऐनले अनुमतिविनै ढक–तराजु प्रयोग गर्नेलाई दुई हजार जरिवाना तोकेको छ । प्रत्येक वर्ष नवीकरण नगर्नेलाई एक हजार रुपैयाँ जरिवाना तोकेको छ । ‘वर्षमा ५० हजार ठग्ने व्यवसायी आक्कलझुक्कल हुने अनुगमनका वेला दुई हजार रुपैयाँ जरिवाना तिर्न सजिलै तयार हुने गरेका छन,’ एक कर्मचारीले भने ।


यसरी ठगिन्छन् उपभोक्ता
व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ, तर नौ सय ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । ‘यसरी नौ सय ग्राम तौल भएको ढकलाई एक किलो भन्दै मापन गर्दा उपभोक्ताले १ सय ग्राम कम सामान पाउँछन, तर भुक्तानी भने हजार ग्रामकै गर्नुपर्ने अवस्था छ,’ अनुगमन स्रोतले भन्यो ।


यसरी चिनौं नठगिने ढक–तराजु
गुणस्तर तथा नापतौल विभागले प्रमाणित तराजुमा वर्ष उल्लेख गरेर नेपाल सरकार लेखिएको टाँका (जस्तै २०७५ नेपाल सरकार) लगाइदिएको हुन्छ । ‘विभागले प्रमाणित गरेको ढक–तराजुमा धातुद्वारा निर्मित स्टिकर टाँका लगाइदिएका हुन्छ । त्यस्तो ढक–तराजु प्रयोग भएको स्थानमा किनमेल गर्दा उपभोक्ता तौलमा ठगिने सम्भावना कम रहन्छ । नापतौल कार्यालयका अनुसार प्रत्येक वर्ष ढक–तराजुको नाप परीक्षण गर्दै नवीकरण गर्नुपर्छ । जुन–जुन वर्ष नवीकरण भएको हो, सोही वर्ष उल्लेख गरेर नेपाल सरकार लेखिएको धातुद्वारा निर्मित स्टिकर तराजु र ढकमा लगाइदिने गरेको हुन्छ । तराजुको स्टिकर र ढकको टाँका उपभोक्ताले प्रस्ट देख्ने स्थानमा लगाइएको हुन्छ । त्यसैले यस्ता ढक–तराजु हेरेर मात्रै किनमेल गर्दा राम्रो हुन्छ ।


नियमित नापजाँचको अभाव
सडक तथा अन्य सार्वजानिक स्थलमा मासु, फलफूल, तरकारी तथा किराना पसलमा बिक्री गर्ने व्यापारीले प्रयोगमा ल्याउने गरेका नापतौलका सामग्रीको नियमित परीक्षण हुन नसक्दा उपभोक्ता ठगिने गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राखिएका मासु, फलफूल, तरकारी तथा खुद्रा पसल मध्ये धेरैजसोले प्रयोग गरिरहेको नापतौल सामग्री वार्षिक रुपमा परीक्षण नहुँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको हो ।  एक किलो ग्राम तौलमा एक सय देखि दुई सय ग्रामसम्म नै कम हुने गरेको छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, बाबियाचौर, गुटुलगायतका स्थानमा गरी करिब दुई हजार बढी सानातिना व्यापारीले मासु, फलफूल, तरकारी तथा खुद्रा व्यापार गर्ने गरेका छन् । सडकमा बसेर फलफूल बेच्ने व्यापारीबाट उपभोक्ता बढी ठगिने गरेका छन् । ठेलागाडामा राखेर तरकारी बेच्ने व्यापारीबाट समेत उपभोक्ता ठगिने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।


सडकमा राखेर किराना सामान बेच्नेबाट झनै ठगिने गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट नियमित रुपमा नापजाँच हुन नसक्दा त्यसको असर उपभोक्तामा परेको छ । बजारमा किनेको एक किलो स्याउ घरपुगेर तौलिँदा ८५० ग्राम मात्र देखियो, वीरेन्द्रनगर–९, लाटिकोइलीका राजु केसीले गुनासो गरे । सामान खरिद गर्दा राम्रैसँग तौलिएको जस्तो गर्छन् तर ढक नै कम तौलको हुने रहेछ,’ केसीले भने । बजारका व्यापारीमा पनि कतिपयलाई तराजु वार्षिक परीक्षण गराउनुपर्छ भन्ने जानकारी समेत छैन । हरेक वर्ष आफ्ना ढक तराजु परीक्षण गर्नुपर्ने कुरालाई व्यापारी भने स्वीकार गर्दैनन् । सबैमा डिजिटल मेसिन हुनुपर्ने बताए पनि फुटपाथ पसलमा भने लागू हुन सकेको छैन । सरकारी कार्यालयको अनुगमनमा समेत यस्ता व्यापारी पर्ने गरेका छैनन् ।

Translate »