नयाँ नोट असोज १० गते देखि वितरण हुँदै

दशैं संस्कृतिको अभिन्न अंग नयाँ नोट

भाद्र ३१, काठमाडौं ।

दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यता । संस्कृति नै बनेको छ यो, नेपाली समाजमा । यही संस्कृतिमा जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि । नेपाल राष्ट्र बैंकले यही संस्कृतिलाई ‘क्यास’ गर्दै हरेक दशैंमा नयाँ नोटहरु बजारमा ल्याउँछ । कागजी नोट प्रचलनमा ल्याउने सुरुवात नै दशैंकै बेलादेखि गरिएको थियो । असोज २००२ मा नेपालमा कागजी नोटको पहिलो प्रकाशन गरिएको हो । नेपाल राष्ट्र बैंकले यही संस्कृतिलाई ‘क्यास’ गर्दै हरेक दशैंमा नयाँ नोटहरु बजारमा ल्याउँछ । कागजी नोट प्रचलनमा ल्याउने सुरुवात नै दशैंकै बेलादेखि गरिएको थियो । नेपाल फिलाटेलिक सोसाइटीका महासचिव शक्तिकेशरी उपाध्यायका अनुसार राजा त्रिभुवनको पालामा नेपाली नोट छापिन थालेका हुन् । पहिलो पटक पाँच, १० र एक सय रुपैयाँका नोट चलनचल्तिमा ल्याइएको थियो ।  त्यसअघि भारतीय मुद्रा नै प्रचलनमा थिए, नेपालमा । र, नेपाली मुद्राका रुपमा चाँदी, पित्तललगायत धातुका सिक्का प्रयोग हुन्थे ।

यस वर्ष दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। एक साता छिटो नयाँ नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन्। राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ। गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो। यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो ।

कसरी बिग्रन्छ नोट ?

‘नोट चाँडै पुरानो हुनुमा एउटा मात्र कारण छैन, हाम्रो संस्कृति पनि मुख्य समस्या बनेको छ,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेती भन्छन् । चाडपर्वमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ । टीका लगाएर रंग लतपतिएको हातले नै दक्षिणा दिइँदा नोट थोत्रो हुने गर्छन् । र, दशैंमा निस्कासन गरिएका नयाँ नोट तिहार र छठ सकिँदा/नसकिँदा झुत्रे भइसकेका हुन्छन् ।  नोट प्रचलनमा ल्याइनु अघिसम्म दक्षिणाको रुपमा सिक्का दिने चलन थियो । ‘तर, तिनलाई सफाई गर्ने चलन थियो, त्यतिबेला । मन्दिरमा चढाइँदा अबिर, केशरीलगायत रंग लाग्ने, पानी र दूधबाट भिज्ने, पशुपंक्षी बलि दिइँदा नोटमा रगत लत्पतिने, धुप र अगरबत्तिले जल्ने गर्छन्, नोट । कच्याककुचुक पारेर राख्ने, केरमेट गर्नेजस्ता कारणले पनि नोट चाँडै झुत्रे हुन्छन् । मुद्राको जतनमा ध्यान नदिने प्रवृत्तीकै कारण बर्सेनि करोडौं मूल्यका नोट जलाएर नष्ट गरिन्छ ।

 

Translate »