सुपथ मूल्य पसलमा ग्राहकको आकर्षण

राजु केसी / भदौ २९, सुर्खेत ।
चाडपर्वका बेला बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गदै आईरहेको छ ।  चाडपर्वलाई लक्षितगरेर मंगलबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु गरिएका सुपथ मूल्य पसलमा ग्राहकको आकर्षण बढ्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले चाडपर्व लक्षित खाद्य वस्तु सहुलियत दिएपछि ग्राहकको आकर्षण बढ्न थालेको हो । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका खरिद तथा विक्री वितरण बढेपछि सुर्खेतका बजारहरुमा चहल पहल बढेको छ । उपभोक्ताको रोजाई सुपथ मूल्यप्रति बढि देखिएको स्थानीय राज केसीले जनाए । उनले सुपथ पसल सञ्चालन गरेसँगै उपभोक्ताले राहत पाउने अपेक्षा राखिएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय सुर्खेतले चाडपर्वमा सुपथ मूल्य पसलबाट चामलमा प्रतिकिलो १० रुपैयाँसम्म घटाएर ग्राहक उपलब्ध गराईएको जनाएको छ । कार्यालय प्रमुख भीमबहादुर थापाले मोटा चामल ३७ रुपैयाँ, सोना मन्सुली चामल ४० रुपैयाँ, जिरा मसिनो चामल ५० रुपैयाँ, जापानी चामल ४६.५० रुपैयाँ, कर्णालीको सिमी १२० रुपैयाँ र कर्णालीको तिते फापर ८० रुपैयाँमा विक्री वितरण भईरहेको जानकारी दिए । उनले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सहुलियत मूल्यमा विक्री वितरण गरि रहेको बताए । उनका अनुसार भदौं २४ गते देखि शुरु भएको सहुलियत मूल्य खाद्यन्न विक्री वितरण आगामी कार्तिक १७ गते सम्म सञ्चालन हुनेछ । उनले सिमी प्रति व्यक्ति ६ किलो र चामल एक क्वीन्टलसम्म सुपथ मूल्य पसलबाट खरिद गर्न सक्ने जनाए ।
यता साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड शाखा सुर्खेतले पनि उपभोक्तालाई राहत दिनका लागि सहुलियत मूल्यमा नून, चिनी उपलव्ध गराई रहेको जनाएको छ । साल्ट ट्रेडिङ सुर्खेतका शाखा प्रमुख रामबाबु गुप्ताले सहुलियत मूल्य पसलमा नून प्रतिकेजीमा दुई रुपैयाँ र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको बताए । उनका अनुसार सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति ६ किलोग्राम सम्म नून, चिनी विक्री वितरण गरिने छ ।

Translate »