बड्डीचौर–गुटु–बेनीघाट सडकको डीपीआर शुरु

ट्¥याक खुलेको साढे दुई दशकपछि स्तरोन्नती

आकाश तारा बयक /भदौ २९, सुर्खेत ।
बहुप्रतिक्षित मदनभण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–गुटु–बेनिघाट पक्की सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम शुरु भएको छ । आइतबार सुर्खेतबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद नवराज रावतले (नेशनल हाइवे–जीरो नाईन) सुर्खेत जिल्ला अन्तर्गत पर्ने कुल २३२ किलोमिटर मध्ये ९४ किलोमिटर कच्ची सडकलाई पक्की बनाउन डीपीआरको शुभारम्भ गरेका छन् । ट्¥याक खोलिएको २५ वर्षपछि सरकारले मदन भण्डारी राजमार्ग घोषणा गरेसँगै पश्चिम सुर्खेतको लाइफलाइन सडकको डीपीआर शुरु भएको हो । दाङको सीमासँग जोडिएको काल्चेदेखि पश्चिम बेनिघाटसम्मको लम्बाई २३२ किलोमिटर राजमार्ग सुर्खेत खण्डमा पर्दछ । राजमार्गको सुर्खेत खण्डमा पहिलो चरणमा ९४ किलोमिटर दुई लेन सडकको डीपीआर गर्न करिब ५२ दिन लाग्ने सील्ट–सीइआरसी–जीइओकम जेभीका प्रतिनिधि तथा सर्भे ईन्जिनियर भक्तहरि श्रेष्ठले बताए । उनले डीपीआरको काम पुरा हुने वित्तिकै वातावरणिय प्रभाव मूल्यांकन (ईआईए) गर्न दुई महिनाको समय लाग्ने जानकारी दिए । उनका अनुसार हाल कायम रहेको सडकको वीच प्वाइन्टदेखि दुबै तर्फ २५/२५ मिटर डीपीआरमा समेटिने छ ।


सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डीपीआर र ईआईएको काम पुरा भएपछि टेण्डर प्रक्रियामा गएर ठेक्का सम्झौतापछि सडक निर्माणको काम शुरु हुने बताए । उनले पश्चिम सुर्खेतका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशसँगको आर्थिक, सामाजिक सम्बन्धलाई समेत सडक सञ्जालले नयाँ आयाम थप्ने उल्लेख गरे । ‘ऐतिहासिक रुपमै पश्चिम सुर्खेतको विकासमा मदन भण्डारी राजमार्गले नयाँ आयाम थप्नेछ,’ उनले भने, ‘अहिले पक्की सडक अभावले पछाडी परेको पश्चिम सुर्खेतको विकासलाई राष्ट्रि सडक सञ्जालमा जोड्न स्थानीय बासिन्दासँगै तीनै तहका सरकारको सहयोग अपरिहार्य हुन्छ ।’ उनले बड्डीचौर–गुटु–बेनीघाट पक्की सडकको डीपीआर तोकिएकै समयमा पुरा गर्न स्थानीय बासिन्दाले बढी सहयोग तथा खबरदारी आवश्यक रहेको औल्याए ।


जनप्रतिनिधिमा उत्साह
कुनाथरी गाउँपालिकाको बड्डीचौरलाई जीरो प्वाइन्ट मानेर शुरु गरिएको डीपीआर शुभारम्भ कार्यक्रममा आइतबार संघीय सांसद नवराज रावतले पश्चिम सुर्खेतका बासिन्दाले २८ वर्षदेखि माग गर्दे आएको कच्ची सडकलाई अबको चार वर्ष भित्र पक्की बनाएर आफुले गरेको प्रतिवद्धता पुरा गर्ने बताए । उनले पश्चिम सुर्खेतको विकासमा लागि पक्की सडकसँगै विद्युत, सञ्चार र प्राविधिक शिक्षालय खोल्ने कार्य आफ्नै कार्यकालमा पुरा गरेरै छाड्ने दावी गरे । ‘पश्चिम सुर्खेतको विकासका लागि मेरुदण्ड मानिएको बड्डीचौर–गुटु–बेनिघाट सडक तोकिएकै समयमा सम्पन्न गर्न सबैको समान दायित्व रहन्छ,’ उनले भने, ‘अथक प्रयासपछि वषौंदेखी नागरिकले भोग्दै आएको सडक सास्ती अबको केही वर्षमा पूरा गर्न तीनै तहका जनप्रतिनिधिले सक्दो सहयोग गरौं ।’ उनले क्षतीपूर्तीका नाममा बखेडा झिकेर स्तरोन्नतीको कामलाई प्रभावित गर्ने काम कहीं कतैबाट नगर्न समेत आग्रह गरे ।

डीपीआर शुभारम्भ कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही, बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले पश्चिम सुर्खेतको मेरुदण्ड मानिएको मदन भण्डारी राजमार्गले सडक सञ्जाल जोडेर नयाँ मूल्य मान्यता स्थापित गर्ने बताए । उनीहरुले पश्चिम सुर्खेतलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न प्रतिनिधि सभा सांसद नवराज रावतको प्रयासको प्रशंसा गर्दे सडक स्तरोन्नतीको काममा हरेक स्तरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


मुहार फेरिनेमा स्थानीय ढुक्क
ट्¥याक खुलेको साढे दुई दशक पछि पक्की सडक निर्माणको डीपीआर शुरु भएसँगै सर्वसाधारणमा खुशी छाएको छ । पश्चिम सुर्खेतका पाँच दर्जन बढी गाउँलाई प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जोड्ने बड्डीचौर–गुटु–बेनिघाट सडक राष्ट्रिय राजमार्गसँग जोडिन लाग्दा गाउँको मुहार फेरिनेमा स्थानीय बासिन्दा ढुक्क छन् । जिल्लाको सिङ्गो पश्चिम तथा सुदूरपश्चिमको डोटी जिल्लालाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मानिएको उक्त सडक वर्षौंदेखि स्तरोन्नतिको पखाईमा छ । कालोपत्रे गरिएको सडकमा सहज यात्रा गर्न पाउने दिनको पखाईमा रहेका पश्चिम सुर्खेतका नागरिकमा डीपीआरको कामले नयाँ आशाहरु पलाएका छन् । २०५१ सालमा ट्¥याक खोलिएको सडकको डीपीआर शुभारम्भसँगै कालोपत्रको काम समेत समयमै सम्पन्न हुनेमा स्थानीय बासिन्दा विश्वस्त रहेको पाइयो ।


हाल सर्वसाधारणलाई सास्ती
अहिले बड्डीचौर–गुटु– बेनीघाट सडक घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्टी छन् । कतिपय स्थानमा सडक निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धुलोले सडक आसपासका घरभरी धुलो भरिन्छ । सडकको केही भाग ग्राभेल गरिएको छ । तर ग्राभेल गरिएको हो भन्ने पत्याउन मुश्किल छ । किनभने सडकमा गिट्टी भन्दा बढी धुलो छ । हाल सडक स्तरोन्नतीको काम न त स्थानीय सरकार गरेको छ न त प्रदेश सरकारले नै गरेको छ । ९४ किलोमिटर लम्वाई रहेको उक्त सडकको स्तरोन्नती नहुँदा सर्वसाधारणलाई आवत—जावतमा कठिनाई हुनुका साथै यस क्षेत्रका कृषिजन्य उत्पादनले बजार पाउन सकेका छैनन् । सडक स्तरोन्नती भए पश्चिम सुर्खेतबाट डोटी, बाजुरा अछाम, कैलालीका नागरिकलाई काठमाडौं जानलाई हालको दुरी भन्दा आधा छोटो पर्नेछ ।

Translate »