‘थारु महिलाका लागि थारु महिला नै जुट्नु पर्छ’

भदौ २८, सुर्खेत ।
थारु महिला सशक्तिकरणमा महिलाका लागि महिला नै जुट्नु पर्ने थारु अगुवाहरुले बताएका छन् । थारु कल्याण कारिणी सभा सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा थारु महिला एकजुट भएर आफ्ना मुद्धामा आफै बहस तथा पैरवी गर्न सक्ने नभएसम्म हक, हित र अधिकार कुरा सुनिश्चित हुन नसक्ने अगुवाहरुको भनाई थियो ।


कार्यक्रममा थारु कल्याण कारिणाीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक मानबहादुर चौधरीले महिला सशक्तिकरण हुन सक्दा थारु महिलाका समस्याहरु ओझेलमा परेको बताए । थाकसका अर्का केन्द्रीय सदस्य कृष्णबहादुर थारुले अब सबै वर्ग समूह संगठित भएर मात्र अधिकार प्राप्ति हुने भएकोले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । थारु कल्याण कारी सभाका सल्लाहकार मानबहादुर पन्नाले थारु महिलाहरु संगठित भई अब शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति एवं सांस्कृति रुपान्तरणका लागि सशक्त भई अगाडि बढ्न सुझाव दिए ।

उनले थारु महिला अगाडि नबढेसम्म समाज रुपान्तरण हुन नसक्ने भएकाले महिला आफै सशक्त आवश्यक रहेको रहेको औल्याए । कार्यक्रममा थारु युवा सभाका केन्द्रीय उपाध्यक्ष पवनकुमार थारु, थाकसका सुर्खेत जिल्ला सभापति बेचुलाल चौधरी, चर्चित समाजसेवी जागुराम थारु, भागीराम चौधरी, दुर्गबहादुर थारु, कालिका चौधरीलगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।


यसैवीच थारु महिला सभा गठन थारु कल्याण कारिणी सभा सुर्खेतको समेत गठन गरिएको छ । थारु महिला सभा सुर्खेतको अध्यक्षमा सुमित्रा चौधरी चयन भएकी छिन् । सभाको उपाध्यक्षद्वय चन्द्र चौधरी र सीता चौधरी, सचिव रुपा चौधरी, सह–सचिव कृष्ण चौधरी, कोषाध्यक्ष निर्मला चौधरी तथा सदस्यमा लक्ष्मी चौधरी, राजकुमारी चौधरी, मानकुमारी चौधरी, ज्ञानु चौधरी, सविता चौधरी, मानकुमारी चौधरी र संगीता चौधरी रहेका छन् ।

Translate »