तिमल्सिनाको ‘योद्धाको सपना’ लोकार्पण

भदौ २८, सुर्खेत ।
कवि देवकी तिमल्सिना ‘समीक्षा’को कविता कृति योद्धाको सपना लोकार्पण भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार वीरेन्द्रनगरमा कविता कृति योद्धाको सपना लोकार्पण गरेका हुन् । ‘साहित्यले समाज परिवर्तन गर्नुपर्छ, समाज परिवर्तनका लागि नेपाली साहित्यको विकास अनिवार्य छ,’ उनले भने, ‘कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकोले अरुले नेपाली भाषा साहित्य संरक्षण गर्लान् भन्नुभन्दा कर्णालीबाटै यसको सुरुवात गर्नु पर्दछ ।’ कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले हिजोका दिनमा भएका यथार्थ घटनाहरुलाई विश्लेषण गर्न सकेको बताए । ‘कविता कृति ‘योद्धाको सपना’ ले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको युद्धदेखि योद्धाहरुले देखेका सपनाहरु पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको छ,’ उनले भने, ‘कवितात्मक रुपमा आएका यी शब्दहरुले एक पटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।’ कृतिकार कवि देवकी तिमल्सिना ‘समीक्षा’ले उक्त कृतिमा भएका कविताहरु आफ्नो भोगाई भएको बताएकी छन् । उनले नेपालमा भएको लामो शसस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरुको स्वरलाई मुखरित गर्ने प्रयास गरेको बताईन् । अझैं पनि धेरै योद्धाहरुको सपना पूरा नभएकोले गणतन्त्र आइसकेपछिका सरकारहरुले योद्धाका सपनाहरुलाई पूरा गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।


‘योद्धाको सपना’ कविता संग्रहमा ४३ वटा कविताहरु संग्रहित भएको बताउँदै समीक्षक प्रा. खोपिराम लम्सालले कविता कृतिमा क्रान्तिका स्वरहरु सुसेलिएको बताए । कवितामा अविधा, लक्षणा र व्याञ्जना हुन्छ,’ उनले भने, ‘कृतिले केही सपनाहरु पूरा भएको भएपनि केही सपनाहरु पूरा गर्न बाँकी रहेको बताएको छ ।’ साहित्यले हिजो, आज र भोलि बोल्न सक्नु पर्छ भन्दै समीक्षक लम्सालले भने अब प्रगतिशीलबाट माथि उठेर प्रगतिवादको थालनी गर्न जरुरी रहेको औल्याए । उनले भने ‘कविले अरु धेरै आशा गर्नुको साटो समाजको परिवर्तकको रुपमा काम गर्नु पर्दछ ।’ साहित्य समाजको दर्पण मात्र होइन समाजको संचेतना प्रवाह गर्ने चीज पनि हो लम्सालको भनाई थियो ।


कार्यक्रममा बाँकेका गजलकार देवकी निरौलाले गजल वाचन गरेकी थिइन भने बर्दियाका कवि सुवास अधिकारीले कविता वाचन गरेका थिए । कर्णाली साहित्य समाजको आयोजनामा भएको उक्त कार्यक्रममा दैलेख, सुर्खेत, कालिकोट, अछाम, कञ्चनपुर, बैतडी, डोटी, जाजरकोट, बाँके बर्दिया, सल्यान, रुकुम, रोल्पा, हुमला, जुम्ला, मुगुलगायतका जिल्लाहरुबाट ३ सय बढि साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Translate »