सोह्र श्राद्ध शुरु, पितृ पक्षपछि दुर्गा पक्ष

भदौ २८, सुर्खेत ।

आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शनिवारबाट शुरु भएको छ । पितृ पक्षको पहिलो दिन शनिवार प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

 

सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औंशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  ‘कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औंशीमा श्राद्ध गर्नुपर्छ, औंशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औंशीमा गर्नुपर्छ, यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मंसिर १ गते) मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ, तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न’, उनले भने ।

सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन  छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कने लोकोक्ति रहेको छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।आफ्नो घरभन्दा बाहिर बसेकाहरूले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैं शुरु हुन्छ ।

Translate »