चाडपर्वमा विशेष छुट दिन सुउवा संघको आग्रह

भदौ २४, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले दशै, तिहार र छठ पर्वको अवसरमा विशेष छुट दिन आग्रह गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रका तर्फबाट चाडपर्व लक्षित गरेर वस्तुको विक्रीमा छुट दिन मंगलबार बसेको संघको बैठकले उद्योगी, व्यवसायीलाई आग्रह गरेको हो । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि निजी क्षेत्रका तर्फबाट विभिन्न सामानमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । ‘चाडपर्व नजिकिएकाले विशेष छुट व्यवस्था गर्न सबै उद्यमी, व्यापारीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘चाडपर्वको अवधिधर वस्तुको प्रकृति हेरेर केही प्रतिशत छुटको व्यवस्था गर्न संघले पहल गरेको छ ।’

संघका कार्य समिति सदस्य तथा बजार अनुगमन संयोजक जनकबहादुर थापाले सरकारी स्तरबाट समेत उपभोक्तालाई चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरिएकाले निजी क्षेत्रबाट समेत छुटको व्यवस्था गर्न वस्तुगत समितिलाई अनुरोध गरिएको जनाए । ‘चाडपर्वका बेला बजारमा किनमेल बढी हुने भएकाले बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारी स्तरबाट बजार अनुगमन हुने हुँदा बजार अनुगमन टोलीलाई सहयोग गर्न समेत उद्योगी, व्यापारीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘व्यापारीपनि यसै समाजको उपज भएकाले कानून विपरित कुनैपनि वस्तु तथा सेवाको विक्री वितरणमा सचेत भई जिम्मेवार व्यवसाय गर्नु पर्छ ।’ उनले चाडपर्वका बेला सडेगलेका, म्याद नाघेका, मूल्य सूची नभएका वस्तुहरु विक्री वितरण नगर्न, नगराउन समेत उद्योगी, व्यवसायीलाई अनुरोध गरे ।

Translate »