सुर्खेतमा सहुलियत पसल मंगलबारदेखि

भदौ २३, सुर्खेत ।
चाडपर्वलाई लक्षितगरेर मंगलबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा साल्टट्रेडिङ कर्पाेरेशन लिमिटेडले सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको छ । साल्टट्रेडिङ कर्पाेरेशनले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सहुलियत मूल्यमा नून, चिनी उपलव्ध गराउने भएको हो । कर्पोरेशनले आफ्नै गोदामबाट सहुलियत पसल सञ्चालन गर्न लागिएको साल्टट्रेडिङ शाखा सुर्खेतका प्रमुख रामबाबु गुप्ताले जानकारी दिए । उनले सुपथ मूल्य पसल भदौं २४ गते देखि कार्तिक १७ गते सम्म सञ्चालन गरिने बताए । सहुलियत पसलमा नून प्रतिकेजीमा दुई रुपैयाँ र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइने प्रमुख गुप्ताले बताए । उनका अनुसार सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति ६ किलोग्राम सम्म नून, चिनी विक्री वितरण गरिने छ । सम्भवतः कर्णाली प्रदेश भरी साल्टट्रेडिङले सुर्खेत मात्र सहुलियत मूल्यको नून, चिनी विक्री वितरण गर्दे आईरहेको छ ।

 

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा सुर्खेतले भने केन्द्रबाट औपचारिक रुपले सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन नआएको जनाएको छ । कम्पनीका निमित्त सुर्खेत शाखा प्रमुख जीवनाथ कँडेलले केन्द्रबाट परिपत्र आउने वित्तिकै सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरिने जनाए । निजी क्षेत्रका व्यवसायीलाई पनि सहुलियत दरमा दैनिक उपभोग्य वस्तु वितरण गर्न अनुरोध गरिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।


चाडपर्वका बेला बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो । सुपथ पसल सञ्चालन गरेसँगै उपभोक्ताले राहत पाउने अपेक्षा राखिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले बताए ।

Translate »