बाँसको तामा शरीरका अनेक रोगको अचूक औषधि

मधुमेह, मुटु, अल्सर जस्ता रोगमा फाइदा पु¥याउँछ

के तपाईलाई थाहा छ ? हाम्रा पुर्खाले परापूर्व कालदेखि नै खानामा प्रयोग गर्दे आई रहेको बासँको तामाका परिकारका फाइदाहरु । बाँसको कलिलो भागलाई तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । हाम्रै घर वरपर पाइने बाँसको तामाको अचार, तरकारी वा सुपलगातको स्वाद तपाई हामी मध्ये धेरैले लिएकै छौं । तामा जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । तामाको सेवनले मुटुको लागि राम्रो फाइदा पुर्याउँछ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामा भन्दा महँगो हुन्छ ।

 

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचारलगायतका परिकारहरु लोकप्रिय छन । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगि छ । विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् । नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।यो अत्यन्तै मिठो हुन्छ । बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ ।

बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए’, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइने गर्छ । तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने भएकोले यसको सेवनले शरीरको बोसो घटाएर तौललाई नियन्त्रणमा राखेर अत्याधिक कोलेस्टेरोल तथा मधुमेह रोगीको लागि निकै फाइदाजनक हुने गर्छ । तामाले मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । तामाको नियमित सेवनले हाम्रो पाचन समस्यामालाई पनि हटाउने गर्छ । पेटमा ग्यास बढ़ेर पेट फुल्दा, पेटको दुखाइ, झाड़ा–पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्याहरुमा औषधीको रुपमा काम गर्दछ ।

प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास–प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ । साथै, फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकीको समस्या होस् यसको सेवनले हामीलाई निकै फाइदा हुन्छ । तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्न मद्दत गर्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई तथा पिसाबघरका समस्याहरूलाई पनि तामाले कम गर्छ । गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा हुने गर्छ ।

 

Translate »