सुर्खेतमा निशान र ड्याटसन गाडीको बिक्री शुरु

भदौं २१, सुर्खेत ।
जापनको चर्चित कम्पनी निशान मोटर्सद्वारा उत्पादित निसान र ड्याटसनका सवारी सुर्खेतको वीरेन्द्रनगरबाट विक्री वितरण शुरु भएको छ । कर्णाली प्रदेशका लागि निशान र ड्याटसनको आधिकारिक बिक्रेता स्वर्णिम विजनेस कन्सर्न प्रालिले शनिबारदेखि गाडीको बिक्री वितरण शुरु गरेको हो ।


कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले निशान र ड्याटसन गाडीको कर्णाली प्रदेशका लागि आधिकारिक डिलर स्वर्णिम विजनेस कन्सर्न प्रालिको उद्घाटन गरेका छन् । उनले जापानको विश्वप्रसिद्ध मोटर निर्माता कम्पनी निशान र ड्याटसनका गाडी कर्णालीका उपभोक्ता माँझ ल्याएकोप्रति अग्रीम सफलताको शुभकामना व्यक्त गरे । उनले निशान र ड्याटसनका गाडीले कारप्रेमी कर्णालीबासीको मन जित्न सफल हुनेछ भन्नेमा आफु विश्वस्त रहेको बताए । उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेल, देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्कालगायतले डिलरको सफलताको शुभकामना दिएका थिए ।

डिलर उद्घाटनकै दिन ४ वटा गाडी विक्री भएका छन भने १२ बुक भएको स्वर्णिम विजनेस कन्सर्न प्रालिका निर्देशक सैयद अनवर अलिले बताए । ‘निशान र ड्याटसनका गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने छन,’ निर्देशक अलिले भने, ‘सुरक्षाका हिसावले अब्बल मानिएका यी गाडीको फराकिलो भित्री भाग र स्टाइलिष्ट लुक्सले ग्राहकहरुलाई आकर्षित गर्नेमा हामी विश्वस्त छौं ।’ उनले निशानका गाडी २५ लाखदेखि ४७ लाखसम्म र ड्याटसनका १७ लाखदेखि २७ लाख रुपैयाँसम्म मूल्य कायम रहेको जनाए । उनका अनुसार निशानमा पाँच वटा मोड्ल र ड्याटसनमा ३ वटा मोड्लमा गाडीहरु उपलब्ध रहेका छन् ।


तीन जना साझेदार रहेको स्वर्णिम विजनेस कन्सर्न प्रालिमा साढे ५ करोड लगानी रहेको अलिले बताए । उनले प्रालिमा आफुसँगै सोमराज थापा र श्याम विकेको समान लगानी रहेको जानकारी दिए ।


डिलरले दसैं र तिहारलाई लक्षित गरी विभिन्न विभिन्न छुट अफर उपलब्ध गराएको बताएको छ । उक्त अफर दसैं भन्दा अगाडि शुरु भएको हो र तिहारको केही दिनपछि सम्म पनि जारी रहने छ ।

Translate »