प्रजिअको सरुवासँगै बजार अनुगमन सुस्तायो

नवराज जैसी / भदौं १७, सुर्खेत ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि बजार अनुगमन सुस्ताएको छ । तत्कालिन प्रजिअ फणिन्द्रमणि पोखरेलको बारा जिल्ला सरुवा भएर गएपछि उनकै निर्देशनमा बनेको बजार अनुगमन तालिका समेत प्रभावित भएको हो । बजार अनुगमनलाई तीव्रता दिन नसक्दा उपभोक्ता दैनिक उपभोग्य वस्तुमा ठगिने क्रम बढ्दै गईरहेको छ । कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि सुर्खेतमा तीव्रता नपाउँदा उपभोक्ता मंहगोमा कमसल वस्तुको प्रयोग गर्न बाध्य छन् । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु विक्री वितरण समेत हुने गरेका भएपनि सम्वन्धित निकायले बजार अनुगमनलाई निरन्तरता नदिँदा उपभोक्ता ठगिने क्रम बढेको हो । नेपालीको मुख्य चाड दशैंतिहार नजिकिँदा समेत बजार अनुगमनलाई तीव्रता दिन नसक्दा बजारमा अराजक तरिकाले मूल्य बृद्धि दिनप्रति दिन बढिरहेको छ ।

उपभोक्ताको हितको लागि दशैंतिहारलाई लक्षित गरेर केही दिनमै बजार अनुगमन कार्य थालिने सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले नयाँ प्रमुख जिल्ला अधिकारी जिल्लामा आई नुपुगेकाले जिल्ला प्रशासनकै कामको व्यस्तताले गर्न नियमित बजार अनुगमन स्थिगित गर्नु परेको बताए । ‘नयाँ प्रजिअ आउने वित्तिक यसपाली संयुक्त रुपमा बजार अनुगमनको तयारी भएको छ,’ उनले भने, ‘स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रसासन कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्ने योजना बनाईएको छ ।’ उनका अनुसार बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरि दुई कलस्टर बनाइएको छ । क्षेत्रगत कलस्टरमा जिल्ला मुख्य–मुख्य बजार लगायतका रहेका छन् । विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्ति लगायतका रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैले पनि बजार अनुगमन गर्ने भएपनि संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय भएकोले केही ढिला सुरु हुन गएको उनको भनाई छ ।

बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन, कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिन्छ । बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुबै सचेत हुन्छन् । बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गरेको वीरेन्द्रनगरका किराना व्यवसायी चेतन ओलीको छ । उनले बजारमा बिक्री हुने सामग्री विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने बताए । बजार अनुगमन नियमित रुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने प्रदेश आयुर्वेद औषधालयका चिकित्सक शंकरप्रसाद रिजाल बताउनु हुन्छ । चाडपर्व लक्षित मात्रै नभएर समयसमयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीहरुले बताएका छन् । समयसमयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने लक्ष्मी कोल्ड सेन्टरका सञ्चालक छत्रबहादुर खत्रीले बताए । चाडपर्वका बेला हुनसक्ने कालोबजारी नियन्त्रण गर्नको लागि सुर्खेतका स्थानीय तहहरुले पनि बजार अनुगमनमा चाँसो देखाउन आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माको भनाइ छ ।

Translate »