‘निजी क्षेत्रलाई अंकुश लगाउन कर आतंकले हतोत्साही बनायो’

आर्थिक समृद्धिका लागि तीनै तहका सरकार जिम्मेवार बन्न निजीको क्षेत्रको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष निरक केसीले स्थिर सरकार आएपछि व्यापार व्यवसाय फस्टाउने आशमा बसेको निजीक्षेत्र पछिल्लो समय निराश हुँदै गएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यकारिणी समितिको कोषाध्यक्ष भएपछि गृह जिल्लाको सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै केसीले निजी क्षेत्रलाई अंकुश लगाउँदै कर असुल्नने नियतले सरकारले विभिन्न ऐन कानून बनाएर झन त्रसित र हतोत्साही बनाईरहेको बताए । उनले दुई तिहाइको स्थिर सरकाले जुन उत्साह थप्नुपर्ने हो त्यो थपेन बरु उल्टै निजी क्षेत्रलाई हतोत्साही बनाईरहेको जिकिर गरे । ‘गाउँ–गाउँमा सिंहदरबार आएपछि सेवा सुविधापनि गाउँ–गाउँसम्मै आउँछ भनेर आशातित भएका बेला विभिन्न नामले कर भार थोपरेर आतंकित बनाईरहेको छ,’ उनले भने, ‘ऐन, कानून ल्याउँदा सम्बन्धित पक्षसंग परामर्श र सरसल्लाह गरेर ल्याउनुपर्ने लोकतान्त्रिक प्रक्रिया विपरित सरकारले निजीक्षेत्रलाई तर्साउने गरी कानून बनाइरहँदा त्रसित र हतोत्साहीको वातावरण सृजना भएको छ ।’

कार्यक्रममा महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले राज्य र विद्रोही दुबैको कोपभाजनमा सधैं निजी क्षेत्र मात्र पर्ने गरेको जनाए । निजी क्षेत्रलाई झन संकुचित बनाउने खालका १४ वटा नयाँ कानून आउन लागेको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष प्रभाव निजीक्षेत्रलाई मात्र नभई मुलुकको अर्थतन्त्रलाई पर्ने दाबी गरे । ‘राज्यको कार्यशैली र प्रवृत्तिप्रति निजी क्षेत्र विश्वस्त हुन सकेको छैन्,’ उनले भने, ‘अर्थतन्त्रलाई बलियो बनाउन राज्यले निजीक्षेत्रलाई अंकुश लगाउने कार्यलाई निस्तेज पारेर स्वतन्त्र बजार निर्माणमा जुट्नु पर्छ ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आर्थिक तथा भौगोलिक रुपले समेत सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशको निजी क्षेत्रले तीनै तहका सरकारबाट धेरै अपेक्षा राखेको बताए । उनले अहिलेपनि थुप्रै नीतिगत तथा प्रशासनिक समस्याहरु निजी क्षेत्रले सामना गर्नपरिरहेकाले आर्थिक सुदृढिकरणमा तीनै तहका सरकारले विशेष भूमिका खेल्न सुझाव दिए ।

संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले महासंघको वर्तमान नेतृत्वले विगतमा जस्तो हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा सरकारले एकलौटी निजी क्षेत्रलाई पेल्दै गईरहेको बताए । ‘राज्यले एकपछि अर्को गर्दै निजीक्षेत्रलाई निराश बनाउने कार्यहरु गर्दै जाँदापनि महासंघको नेतृत्व बैठक र छलफलमै रुमल्लिनु दुःखद हो,’ उनले भने, ‘नीजि क्षेत्रको हक, हित र अधिकारका लागि विगतमा जस्तै प्रभावकारी नेतृत्व दिन महासंघका पदाधिकारी जुट्नु पर्छ ।’ उनले ठूला व्यवसायीका ठूला समस्यामा मात्र केन्द्रीत नभई साना व्यवसायीका साना समस्यामा पनि ध्यान केन्द्रीत गर्न आग्रह गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, महासचिव लक्ष्मण कंडेलसँगै इलेक्टोनिक्स वस्तुगत समितिका अध्यक्ष भुवन ज्ञवालीलगायतले आफ्ना भनाइहरु राखेका थिए ।

Translate »