सुर्खेत मोडेल कलेज पश्चिम नेपालकै उत्कृष्ट

स्काई न्यूज/भदौ ६, सुर्खेत ।  सुर्खेत मोडेल कलेज पश्चिम नेपालकै उत्कृष्ट कलेज बन्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्ष चैतमा लिएको स्नातक व्यवस्थापन संकाय अन्तर्गत (ब्याचलर अफ इन्फोरमेशन म्यानेजमेन्ट) (बीआईएम) प्रथम सेमेस्टरको नतिजा अनुसार मोडेल कलेज पश्चिम नेपालकै उत्कृष्ट कलेज बन्न सफल भएको हो । मोडेल कलेज कर्णाली, सुदुरपश्चिम र ५ नम्वर प्रदेशकै उत्कृष्ट कलेज भएको क्याम्पस प्रमुख गणेश आचार्यले जानकारी दिए ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पश्चिम नेपालका तीन वटै प्रदेशमा रहेका सबै कलेजहरु मध्ये मोडल कलेजका विद्यार्थीहरुले प्रथम, द्वितिय, तृतीय, चौथो, पाँचौ र छैटौं स्थानसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार मोडेल कलेजका छात्र दिनेश चौधरीले ३.५९ जीपीएसहित प्रथम स्थान हासिल गरेका छन् । परीक्षाको नतिजा अनुसार देशैभरीका कलेजहरु मध्ये सबै भन्दा धेरै विद्यार्थीलाई उच्च अंकसहित उर्तिण गराउने मोडेल कलेज दशौं स्थान भित्र पर्न सफल भएको छ ।

‘स्थापनाको छोटो समयमै स्नातक व्यवस्थापन संकाय सेमेष्टर प्रणालीका परीक्षामा उत्कृष्ट नतिजाका लागि मोडेल कलेज देशभरमै परिचित छ,’ क्याम्पस प्रमुख आचार्यले भने, ‘शिक्षक, अभिभावक, विद्यार्थी र कलेज व्यवस्थापन समितिको अथक प्रयासले बीआईएम, बीएचएम, बीबीएसका साथै एमबीएस कार्यक्रम तर्फ हामीले निरन्तर उत्कृष्ट नतिजा ल्याएर पश्चिम नेपालमै ईतिहास रचेका छौं ।’ उनले कर्णालीमा स्नातक तह सेमेष्टर प्रणालीका व्यवहारिक विषयहरुमा गुणस्तरीय अध्ययनका लागि मोडेल कलेजको अर्को विकल्प नरहेको जिकिर गरे । उनका अनुसार कलेजले बीआईएम र बीएचएम अध्ययनका लागि अनिवार्य सीम्याट तयारी कक्षा समेत सञ्चालन गरिरहेको छ ।

Translate »