चाडपर्वसँगै मिसावट र महँगी बढ्यो

नियमन प्रभावकारी नहुँदा उपभोक्ता मारमा

पार्वती बयक /भदौं ५, सुर्खेत ।
सरकारी नियमनकारी निकायले प्रभावकारी ढंगले नियमन गर्न नसक्दा दैनिकजसो उपभोक्ता ठगिने क्रम बढेको छ । सरकारले बजार नियन्त्रण गर्न नसक्दा दैनिक उपभोग्य वस्तुमा उपभोक्ता मूल्य चुकाएर पनि ठगिने क्रम नरोकिएको हो । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले व्यवसायी जिम्मेवार र उपभोक्ता सचेत हुन नसक्दा बजार व्यवस्थित बन्न नसकेको बताए । नियमनकारी निकायले गर्ने काममा इमानदारिता नहुँदा बजार दिनप्रतिदिन अस्वस्थ बन्दै गएको छ,’ उनले भने, ‘राजनीतिक दलका नेताले व्यापारीसँग उठाउने चन्दाको कारणले गर्दा पनि व्यवसायी अराजक हुँदा बजार व्यवस्थित बन्न नसकेको हो ।’ उनले चार्डपर्व नजिकिएसँगै बजारमा व्यापारीले कमसल, म्याद नाघेका सामान, बढी मूल्य लिई उभपोक्ता ठग्न सक्ने भन्दै दैनिकजसो अनुगमन गर्न आवश्यक रहेको औल्याए । ‘स–साना पसल भन्दा पनि मुहानमै गएर अनुगमन गर्न जरुरी छ,’ उनले भने, ‘अनुगमनका बेला व्यापारीले उपभोक्ता ठगेको फेला परे तत्काल स्पट कारबाही गर्न जरुरी छ ।’

चार्डपर्व शुरु हुन लाग्दै गर्दा कर्णालीका गाउँबस्ती सहर बजार जताततै पर्वको चहलपहल देखिन थालेको छ । घर बाहिर कमाउन गएका कर्णालीका प्रवासीहरु घर फर्कन थालेका छन् । तीजालगायतको चाडबाड मनाउन जोहो गरेको पैसाले स्थानीय बजारमा किनमेल गर्दा महँगी भने हवात्तै बढेको छ । यतिबेला नयाँ लुगा सिलाउने, खाद्यान्न किन्ने, मिठो पक्वान्न बनाउन शुरु भएको छ । सँगै विभिन्न स्थानमा मेला र जात्राको चहलपहल पनि सुरु भएको छ । ‘कर्णाली प्रदेशको प्रमुख व्यापारिक शहर वीरेन्द्रनगरबाटै खाद्यान्न र अन्य मालसामानको आपूर्ति हुने गरेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव शर्माले भने, ‘चाडबाडकै अवसर पारेर व्यवसायीद्वारा खाद्य तथा अन्य वस्तुमा उपभोक्ता ठगिने गरेका छन् ।’ उनकाअनुसार खाद्यवस्तुमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढ्ने गरेको छ । त्यसैले यतिखेर बजार अनुगमनमा सरोकार निकायहरुको ध्यान पुग्न जरुरी रहेको उनको भनाइ छ । उनले सरकारका विषयगत नियमनकारी निकायहरुले बजार अनुगमनको कुनै प्रभावकारी काम देखाउन नसकेको आरोप लगाए । ‘नियमनकारी निकाय नै प्रभावकारी भएनन,’ उनले भने, ‘उपभोक्ताहरुले अखाद्य वस्तु खानुपरेको छ । झन् चाडबाड सुरु भएको बेला बजारमा लुट चलिरहेको हुन्छ । त्यसलाइ नियन्त्रण गर्नु परेन ?’ उनी जिल्ला प्रशासनको नेतृत्वमा सरोकार पक्ष सबैको संयुक्त अनगमन हुनुपर्ने बताउँछन् । खाद्य पसलमा ४० प्रतिशत मिसावट र म्याद गुज्रिएका वस्तु भेटिने गरेको सुर्खेतका उपभोक्ता श्यामभक्त आचार्यले बताए । ‘वीरेन्द्रनगर मुख्य बजारका भित्री खाद्य तथा खुद्रा पसलमा अनुगमन गर्नुहोस,’ उनले भने, ‘आधा सामान गुणस्तहीन भेटिनेछन ।’ उनका अनुसार दाल, तेल, घिउमा धेरैनै मिसावट छ । म्याद गुज्रेका चिसो पेय पदार्थ, ड्राइफुड बिस्कुट चाउचाउलगायतका वस्तुहरु रहेका छन । चामल र पिठोमा पनि र ढुसी परेको पाइने गरेको उनले जानकारी दिए । बजार अनुगमन तथा नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नभएको शर्माको भनाइ छ । अनुगमन गरीएको भनिएका ठाउँमा पनि कमजोरी भेटिनुमा कर्मचारीको गैरजिम्मेवारी देखिएको उनले बताए । ‘अनुगमनमा पटक पटक अनियमतितता गरेको भेटिएपछि त कर्मचारीले कानुनको कोर्राले हिकाउनुपर्छ, बच्चालाई ललिपप खुवाएजस्तो हुँदैन’ उनले भने ‘सँधैभरी कर्मचारीले तीनदिनभित्र हाजिर हुन आउनु, चारदिनभित्र आउनु भनेर फर्कन्छन यसले बजार सुधर पनि हुँदैन अनुशाशित पनि हुँदैन ।’ अनुगमनमा बद्मासी गर्नेलाई कानुनी कार्वाही गर्न नसक्नुले पनि व्यवसायीले जे गरीपनि हुने देखिएको उनले बताए ।  ‘विषयगत कार्यालयका वार्षिक क्यालेन्डरअनुसार अनुगमन भए होलान,’ उनले भने, ‘ती अनुगमन देखावटी मात्रै सावित भएका छन ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाले बजार अनुगमन भइरहेको बताए ।

Translate »