देशभर ‘ज्यानमारा’ सडक : न नीति ठीक, न कानूनको कार्यान्वयन

काठमाडौं – नेपालमा सडक दुर्घटनाको अवस्था भयावह देखिएको छ ।

अघिल्लो अर्थिक वर्ष २०७४/०७५ भन्दा अर्थिक वर्ष २०७५/२०७६ सालमा २ सय २१ जना बढीले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

अघिल्लो अर्थिक वर्षमा देशभरमा सडक दुर्घटनामा २ हजार ५ सय ४१ जनाले ज्यान गुुमाए भने पछिल्लो आर्थिक वर्षमा २ हजार ७ सय ६२ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

घाइतेको संख्या १ हजार १ सयले बढेको देखिन्छ । अघिल्लो वर्षमा ४ हजार १ सय ४४ जना गम्भीर र ८ हजार २ सय ४७ जना सामान्य घाइते भएका छन् । पछिल्लो वर्षमा ४ हजार २ सय ३३ जना गम्भीर घाइते र ९ हजार ५ सय ५९ जना सामान्य घाइते भएका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको ५७ किलोमिटरमा २९ जनाको ज्यान गएको छ भने १ सय ८७ जना घाइते भएका छन्,’ पोखरेलले थपे, ‘मुग्लिन–नागढुंगासम्म १ सय ३० किलोमिटरमा ८७ जनाको ज्यान गएको देखिन्छ ।’

मापडण्ड पूरा गरेका कुनै सडक छैनन्

नेपालको सडकको अवस्था निकै नै दयनीय भएको सडक सुरक्षा सम्बन्धी अभियान चलाएका अभियन्त तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष गोविन्द भट्टराईले बताए ।

‘नेपालमा १ लाख किलोमिटर सडक निर्माण भएको अवस्था छ । जसमा झण्डै १६ हजार राजमार्ग र अन्य (शहरका गल्ली समेत) झण्डै ८ हजार सडक पीच भएको अवस्था छ । झण्डै ७५ हजार किलोमिटर सडकखण्ड कच्ची नै छ,’ भट्टराईले थपे, ‘जुन देशमा ४ भागको १ भाग मात्र पीच छ । त्यो पनि गुणस्तरहीन तथा अवैज्ञानिक छ । त्यस्तो देशमा हरेक वर्ष दुर्घटना बढ्नु र सडकका कारण ज्यान जानेको संख्या बढेको देखिन्छ ।’

देशमा पीच भएका सडक पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छैनन् । नेपालका इन्जिनियरले गरेको सडक डिजाइन प्रायः सबैजसो फेल भएको अभियन्ता भट्टराईले बताए ।

‘कुन सडक हाइवे हो ? कुन सडक लिंकरोड हो ? कुन सहायक हो भन्ने द्विविधा छ । नारायणगढ–मुग्लिन सडकखण्ड कुन रोड हो ? हालसम्म पनि निर्धारण गरेको अवस्था छैन भने सडकमा सवारी कसरी गुडाउने ?’ भट्टराईले गुुनासो पोखे, ‘राजमार्गको छेउछाउमा गाडी रोक्ने बस स्टप, सडक पार गर्ने निश्चित स्थान लगायतका कुनै पनि मापडण्ड पूरा गरेको देखिँदैन ।’

‘दुर्घटना बढ्नुको मुख्य कारण यो नै हो । सडकमा हुनुपर्ने मापडण्ड नै पूरा छैन भने जनचेतनाले कुनै पनि काम गर्दैन,’ भट्टराईले भने ।

नीतिमा नै त्रुटि

नेपालमा लामो दूरीका यातायातमा २ जना सवारी चालक राख्नुपर्ने नियम यातायात व्यवस्था विभागले गरेको झण्डै १३ वर्ष पुग्न लागिसकेको छ । तर पनि दुर्घटनामा कमी नआएको पूर्व एआईजी जयबहादुर चन्दले बताए ।

‘नेपालको भौगोलिक अवस्थालाई हेर्ने हो भने नीतिगत नै त्रुटि छ । २ जना चालक त छन् तर १ जनाले मात्र सवारी चलाउँछन् । १ जना सुतेरै जान्छन्,’ चन्दले थपे, ‘नेपालको सडक उकालो–ओरालो छ । हरेक २–२ घण्टामा लामो दूरीका सवारी चेकजाँच गर्ने व्यवस्था गरिनुपर्ने हो ।’


लामो दूरी तथा छोटो दूरीका सवारीलाई व्यवस्थापन गर्न निश्चित स्थान तोकेर प्रहरीले ड्राइभरलाई सामान्य ‘वार्मअप’ (हात चलाउने, मुख धुुने, कागती चिया खाने, हातगोडा चलाउनेजस्ता क्रियाकलाप) गर्नुपर्ने पूर्व एआईजी चन्दले बताए ।

पुराना गाडीको व्यवस्थापन

नेपालमा धेरै पुराना सवारीसाधनको संख्या अध्याधिक छ, जसले गर्दा दुर्घटना बढाएको सडक सुरक्षाका अभियन्ता गोविन्द भट्टराईले बताए । उनले व्यंग्य शैलीमा भने, ‘नेपालमा चल्ने सार्वजनिक यातायातमा हर्नभन्दा गाडीका पार्टपूर्जा बढी बज्छन् ।’

नेपालमा भएका पुराना सवारीसाधनलाई विस्थापनको नीति ल्याउनुपर्ने पूर्व एआईजी जयबहादुर चन्दले बताए । ‘अहिले पनि नेपालमा २० औं शताब्दीका गाडी चलिरहेका छन् । भन्नुको मतलब पुराना गाडीले गर्दा नै दुर्घटना निम्त्याएको देखिन्छ,’ उनले भने ।

काठमाडौं उपत्यकामा दुर्घटनाको अवस्था

काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा २ सय ५४ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । ३ सय १७ जना गम्भीर घाइते भएका छन् भने ५ हजार ८ सय ९० जना सामान्य घाइते भएको देखिन्छ ।

उपत्यकामा ८ हजार सवारी कारवाहीमा

काठमाडौंमा प्रत्यक्षबाहेक सीसीटीभीको मद्दतबाट दैनिक कैयौं सवारीसाधन कारवाहीमा पर्ने गरेका छन् । आर्थिक २०७५/०७६ को तथ्यांकलाई हेर्ने हो भने २०७४ माघ २५ गतेदेखि २०७६ असार मसान्तसम्म ८ हजार ९ सय ३१ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ५१ जना र आर्थिक वर्ष ८ हजार ३ सय ८० वटा सवारी कारवाहीमा परेका छन् । सीसीटीभीबाट २०७४ माघ २५ गतेबाट ट्राफिक प्रहरीले शुरूवात गरेको थियो ।

२०७५ साउनमा २ सय ५६ वटा, भदौमा १ सय ८६, असोजमा २ सय १८ वटा, कात्तिकमा १ सय ६१ वटा, मंसिरमा १ सय ४४ वटा, पुसमा १ सय ४६ वटा, माघमा १ सय ५० वटा, फागुनमा १ सय ६० वटा, चैतमा १ सय ५१ वटा, २०७६ वैशाख १ सय ६५ वटा, जेठमा १ सय ५० वटा र असारमा १ सय १० जना गरी १ हजार ९ सय ९७ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी कार्यालयमा सीसीटीभीबाट रेकर्ड भएको भिडियो फुटेजको आधारमा ट्राफिक प्रहरी महाशाखाले घरबाट बोलाएर कारवाही गरेको एसएसपी पन्तले बताए । महानगरीय प्रहरी कार्यालयले ‘अन द स्पट’ समेत कारवाही गरेको छ । २०७५ साउनमा ३ सय ६५ वटा, भदौमा १ सय ८४, असोजमा २ सय वटा, कात्तिकमा १ सय ५ वटा, मंसिरमा १ सय ६६ वटा, पुसमा २ सय ७७ वटा, माघमा २ सय २९ वटा, फागुनमा ३ सय ६३ वटा, चैतमा ४ सय ४६ वटा, २०७६ वैशाख ९ सय ९४ वटा, जेठमा ८ सय ५६ वटा र असारमा १ हजार १ सय २९ जना गरी ५ हजार ३ सय १४ वटा सवारी कारवाहीमा परेका छन् ।

‘सर्भिलियन्स भेहिकल’बाट २०७५ साउनमा १ सय ६ वटा, भदौमा १ सय ५२, असोजमा १ सय ४२ वटा, कात्तिकमा १ सय ५० वटा, मंसिरमा ८२ वटा, पुसमा ९९ वटा, माघमा ९८ वटा, फागुनमा ५७ वटा, चैतमा ५४ वटा, २०७६ वैशाख ५५ वटा, जेठमा ३९ र असारमा ३५ वटा गरी १ हजार ६९ वटा सवारी कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरी नभएको भन्दै ट्राफिक नियम, लेन अनुशासन पालना नगर्ने सवारीलाई सीसीटीभीको आधारमा कारवाहीको दायरामा ल्याउने ट्राफिक प्रमुख पन्तले लोकान्तरलाई बताए ।

ट्राफिक प्रहरीले काठमाडौंमा सीसीटीभी निगरानीलाई २०७४ माघ २५ गतेबाट प्रयोगमा ल्याएको थियो । ‘सर्भिलियन्स भेहिकल’बाट कारवाही गर्ने अभ्यास २०७५ जेठ ११ गतेबाट प्रयोगमा ल्याएको थियो ।

Translate »