सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा !

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुबीचको सर्वदलीय बैठकमा गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध राजनीतिक दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भएको बैठकमा विगतमा गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणालीका लागि संघर्ष गर्नेहरु विभाजित हुँदा नै प्रतिगमनकारीहरुले चलखेल गर्ने अवसर पाएको भन्दै एकतावद्ध भएर अघि बढ्नुर्पेमा जोड दिइएको हो ।

बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध राजनीतिक दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

उनले लामो समयसम्म एउटै उद्देश्यका लागि संघर्ष गरिएको भएपनि पछिल्लो समय बिग्रह उत्पन्न भएको भन्दै अब दूरी कम गर्ने र सहमति तथा समझदारीलाई निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विगतमा विस्थापित भएका शक्तिबाटै प्राप्त उपलब्धि उल्ट्याउन चलखेल हुन सक्ने भन्दै प्रधानमन्त्रीले दलहरुलाई सचेत गराए । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने गरी विभिन्न चलखेल गरिरहेको दाबीसहित बैठकमा गम्भीर छलफल भएको बताइएको छ ।

यद्यपि पूर्वराजासहितका विगतमा विस्थापित भएका शक्तिहरुबाट चलखेलको प्रयासभएपनि प्रतिगमन कुनैपनि हालतमा हुन नसक्ने श्रेष्ठले बताए । यद्यपि परिवर्तनका लागि लडेका दलहरुबीच एकता भइ सचेत रहिरहनुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको उनको भनाई छ ।

बैठकमा देशमा हिंसात्मक गतिविधि नहुनका लागि पनि दलहरु एकतावद्ध हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । लामो द्धन्द्ध पछि देश शान्तिको चरणमा आएको हुँदा अब पनि फेरि कसैबाट यसप्रकारको गतिविधि हुन नदिनेको लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । यो मुद्दामा सरकार र नेकपालाई काँग्रेसको सहयोग रहने पनि देउवाले बताए ।

यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिनुपर्ने, संविधान र कानुन विपरित गतिविधिलाई समाधान गरिनुपर्ने र आवश्यक परे वार्तामार्फत विप्लव लगायतका समस्या समाधान गरिनुपर्नेमा पनि नेताहरुबीच विचार विमर्श भएको बताइएको छ ।

सो अवसरमा प्रमले आफ्नो स्वास्थ्यका बारे पनि जानकारी गराएका थिए ।

उनले बाहिर आएजस्तो आफ्नो स्वास्थ्यमा असर नपुगेको तर चिकित्सकको सल्लाहअनुसार फलोअपका लागि बिहीबार सिंगापुर जान लागेको जानकारी गराएका थिए । बैठकमा सहभागी नेताहरुले प्रमको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

Translate »